युवा संघ महाधिवेशन : सर्वसम्मत नभएपछि मतदान सुरु

जेष्ठ १३, २०८२

अनुप पौडेल

Yuva Sangh Convention: Voting begins after no unanimous vote

कास्की — एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनबाट नयाँ कमिटी चयन गर्न मतदान सुरु भएको छ। सर्वसम्मत गराउने ३ दिनदेखि जारी प्रयास असफल भएपछि पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो।

मतदानका लागि ९ वटा केन्द्रमा ४२ वटा भोटिङ मेसिन प्रयोग गरिएको निर्वाचन अधिकृत जय गुरुङले जानकारी दिएका छन्। आयोजक कमिटी, सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशबाट चयन भएका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र प्रयोग गरिएको छ। मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। लाइनमा बसेका प्रतिनिधिले निर्धारित समयमा मत हाल्न नपाएमा समय थपिने निर्वाचन अधिकृत गुरुङले बताए।

सर्वसम्मतको प्रयास असफल भएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गराउन नेताहरूलाई सोमबार निर्देशन दिएका थिए।

निर्वाचनका लागि अध्यक्षका दुवै दाबेदारले सदस्यसम्मको प्यानल बनाएका छन्। थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र देवबहादुर बस्नेत, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम उम्मेदवार छन्। अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा उम्मेदवार छन्।

पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार छन्। अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका छन्।

सचिव खुल्लामा वकिलबहादुर बम, मिनाकुमारी राई (रञ्जु), सचिव मधेसीमा विकास झा, सचिव महिलामा रोजिना पाण्डे (उमा)ले दुवै प्यानल बाहिर रहेर उम्मेदवारी दिएका छन्।

महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन्। लेखा आयोग उपाध्यक्षमा अमित कार्की, सचिवमा लोकेश पाल र भूगोलबाट निर्वाचित हुने सदस्य गरेर ६२ जना निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनबाट पदाधिकारी र सदस्य, आयोग पदाधिकारी र सदस्य गरेर १ सय ६३ जनाको कमिटी चयन हुनेछ।

अनुप

Link copied successfully