'आन्दोलन शान्तिपूर्ण हुन्छ, तर प्रधानमन्त्रीले भड्काउन खोज्दैछन्'
काठमाडौँ — राजसंस्था पुनर्स्थापनाका लागि भन्दै जेठ १५ गतेबाट निरन्तरको आन्दोलनमा होमिन लागेको पूर्वराजावादी समूहहरुको मुख्य घटक दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले 'माघ १९ मा जस्तो 'कू' गर्ने खालको राजा आफूहरुले पुनर्स्थापना गर्न नचाहेको बताएका छन् ।
राजधानीमा मंगलबार मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया गर्दै उनले आफूहरुले ल्याउन लागेको राजतन्त्र र राजा विगतको जस्तो नहुने दाबीसहित भने, 'माघ १९ को जस्तो 'कू' गर्ने राजा ल्याउन खोजेका हैनौं । हिजो र आजका दुवै राम्रा कुरा ल्याउन खोजेका हौं ।'
आन्दोलनको मोर्चामा राप्रपासँगै सहकार्य गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले यही संविधान संशोधन गरे राजसंस्थावादी र गणतन्त्रवादीको मिलनविन्दु भेट्टाउन सकिने अवस्था रहेकाले त्यसका लागि आन्दोलनमार्फत जनदबाब सिर्जना गर्न खोजेको उल्लेख गरे । उनले पनि राजसंस्था र राजा फरक भएकाले राजसंस्थाभित्र राजा हुने व्यक्ति नयाँ पनि हुनसक्ने उल्लेख गरे ।
शाह वंशकै राजा हुने त्यसका लागि ज्ञानेन्द्रको सट्टा उनका नाति हृदयेन्द्रसमेत अब युवा भएकाले उनलाई पनि ल्याउन सकिने उल्लेख गरे । थापाले आन्दोलनको शैली र गन्तव्यबारे भने,'भद्र अवज्ञा गर्छौं, जनताको व्यापक उपस्थितिबाट गणतन्त्रवादीलाई समझदारी गर्नुपर्ने विन्दुमा पुर्याउँछौं । विगतमा यो संविधान सडकको दबाबबाट दुईपटक संशोधन भइसकेको छ । अब पनि सडकको दबाबबाट सबै समेटिने गरी संविधान संशोधनको विन्दुमा पुर्याउँछौं ।'
राजसंस्था पुनर्स्थापना लगायतका माग राखेर आन्दोलनरत राप्रपा लगायतका पूर्वराजावादी दल र समूहहरुले जेठ १५ गतेबाट सुरु हुने नयाँ चरणको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । तर प्रधानमन्त्री र उनको नेतृत्वको दल एमालेले आन्दोलन भड्काउने जोखिम रहेकाले यसलाई मानवअधिकारवादीलगायत सबैले नजिकबाट नियाल्न उनीहरुले आग्रह गरेका छन् ।
राप्रपाका अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा, राजसंस्था पुनर्स्थापना आन्दोलनका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर विष्टले भड्काउने जोखिम रहेकाले नजिकबाट निगरानी गरिदिन अनुरोध गरे ।
'जेठ १५ को कार्यक्रम शान्तिपूर्ण हुन्छ । चैत १५ मा प्रदर्शन भड्काउने काम भयो । यो पटक पनि त्यस्तो नहोला भन्ने अस्था रहेन प्रधानमन्त्रीकै अभिव्यक्ति त्यस्तो आयो,' राप्रपा अध्यक्ष लिङ्देनले भने,'गणतन्त्रको विरोध गर्न यो संविधानले नै दिएको अधिकार हो । संविधानले राजसंस्था माग गर्न पाउने व्यवस्था गरेको छ ।' उनले प्रदर्शनका लागि आफूहरुले राजधानी रत्नपार्क क्षेत्र तय गरेपछि त्यही स्थानमा प्रधानमन्त्रीले आफ्नो दलको कार्यक्रम राख्ने तय गर्नुले भड्काउने खोजेको देखिएको बताए ।
'हाम्रो आन्दोलन सत्याग्रहमा आधारित हुन्छ । आयोजकहरुको नियन्त्रणमा हुन्छ । स्वयंसेवक २ हजार जना परिचालित हुन्छन्,' आन्दोलनको स्वरुपबारे जानकारी दिँदै लिङ्देनले भने,' हामीले यो कार्यक्रममा मन्च खडा गर्दैनौं ।'
अध्यक्ष लिङ्देनले अहिलेको निर्वाचन प्रणालीबाट दुईतिहाइ नआउने र नेपालमा विगतमा कुनै पनि परिवर्तन चुनावबाट नभएको सन्दर्भ उल्लेख गर्दै अहिले पनि आफूहरु व्यवस्था परिवर्तनका लागि जनदबाब उभिएको बताए । 'हामीले यो संविधान र संसद्लाई आन्दोलनको रुपमा प्रयोग गरेका छौं । अहिलेको समस्या नेतृत्वमा मात्र हैन व्यवस्थामै छ । यो व्यवस्थामा परिमार्जन गर्नुपर्छ,' अध्यक्ष लिङ्देनले भने ।
उनले आफूहरुले ल्याउन लागेको राजतन्त्र र राजा विगतको जस्तो नभएको बताए । 'माघ १९ को जस्तो 'कू' गर्ने राजा ल्याउन खोजेका हैनौं । हिजो र आजका दुवै राम्रा कुरा ल्याउन खोजेका हौं,' उनले भने ।
राप्रपाका नेपालका अध्यक्ष थापाले राजतन्त्र पुनर्स्थापना, हिन्दु राज्य पुनर्स्थापना र संघीयता खारेजीका लागि २०६२/०६३ पछि अहिले सबैभन्दा उपयुक्त समय आएकाले सबै समूह मिलेको बताए । 'हामी पानी बाराबारको अवस्थाबाट यहाँ आएका छौं । यो अहिले सबैभन्दा अनुकूल अवस्था छ,' थापाले भने,' हाम्रो वैचारिक धारलाई नै समाप्त पार्ने कोसिस भएपछि हामी एक भएका हौं ।'
आन्दोलनका संयोजक सुवेदीले आन्दोलन अहिंसात्मक हुने तर सरकारको रवैया ठीक नभएको बताए । ' आन्दोलन अहिंसात्मक हुन्छ । सरकारको रवैया ठीक छैन त्यसले हाम्रो शान्तिपूर्ण आन्दोलनको साक्षी बसिदिन हामी तपाईंहरुसँग गुहार माग्न आएका छौं,' संयोजक सुवेदीले भने ।
राष्ट्रिय शक्तिका संयोजक विष्टले पनि भद्र अवज्ञा आन्दोलनमा खतरा आएकोले साथ खोजेर पत्रकारहरु समक्ष आएको बताए ।
