कर्मचारीमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह : खतिवडा

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Prejudice to say that the Home Minister should resign while investigating the staff: Khatiwada

काठमाडौँ — कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्रालय मातहतका कर्मचारीमाथि छानबिन हुँदा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रहपूर्ण माग हुने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेको र संसद्मा विपक्षी दलहरूले विरोध गरिरहेको अवस्थामा राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेका खतिवडाको उक्त अभिव्यक्ति आएको हो । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद खतिवडाले कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीको राजीनामा माग्नु सही नभएको बताए । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि छानबिन गरिरहेको पनि बताए । अनुसन्धानबाट दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने पनि उनको भनाइ थियो । 

कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ । ‘एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्छ । गल्ती भए जुनसुकै तहको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्छ । तर कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ । मातहतका कर्मचारीमाथि उजुरी पर्दैमा मन्त्रीहरूले राजीनामा दिँदै जाने ?,' उनले भने, 'अहिले अख्तियारमा प्रत्येक परेका निवेदनमा उजुरी लेख्नको लागि प्रत्येक कार्यालयमा एउटा कर्मचारी लेख्ने व्यवस्थाको सुरुवात भएको छ । एउटा कर्मचारी त उजुरीको जवाफ दिनको लागि मात्र राखिएको छ । अख्तियार संवैधानिक निकाय हो अख्तियारले छानबिन गरिरहेको छ । अनुसन्धानबाट खुलेअनुसार कारबाही हुनुपर्छ । तर यही विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु कति युक्तिसंगत होला ?’

प्रमुख प्रतिपक्षी माओवादीसहितका विपक्षी दलले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध पारेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग पनि संसद्मा आएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully