सिन्धुपाल्चोक — जिल्लाको भोटेकोसी गाउँपालिकाबाट चीन जोड्ने उत्तरी नाका तातोपानी नाकाको खकुन्डोलमा पहिरोले पुरिँदा दुई बोलेरोसहित केही घरमा क्षति पुगेको छ।
इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार मंगलबार माथिल्लो भेगबाट खसेको सुख्खा पहिरोले भोटेकोसी-४ मा पार्किङ गरेका दुई बोलेरोसँगै केही घरमा क्षति पुगेको हो।
भोटेकोसी गापा-१ का गंगाबहादुर नेवारको बा १८ च ८६१७ नम्बरको बोलेरो पूर्णरूपमा ध्वस्त भएको प्रहरी निरीक्षक राईले बताएका छन्। ‘पार्किङ गरेको एक बोलेरो पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने अर्को बा ०३० च ७८७४ नम्बरको बोलेरोमा आंशिक मात्र क्षति पुगेको छ,’ उनले भने।
पहिरोमा ठूला चट्टान झर्दा यहाँका स्थानीय साङ्बो शेर्पा र पाल्देन शेर्पाको घरभित्र ढुंगा पुगेर क्षति पुगेको प्रहरीले जनाएको छ।
बर्खाअघि बाह्रबिसे–तातोपानी २६ किलोमिटर सडकमा यहाँ पहिरो खस्न थालेपछि प्रहरीले सतर्कता अपनाएर आउजाउ गर्न कडाइ गरेको प्रहरी निरीक्षक राईले बताए। ‘दुई घरमा सामान्य क्षति पुगेको छ, मानवीय क्षति भने छैन,’ उनले भने।
यसअघि तातोपानी सडकको कोप्लाङमा १५ मिटर सडक भासिँदा लामो समय ठप्प भएको थियो। अहिले पहिरोको अवरोध हटाइएकाले यातायात चलिरहेको छ।
