श्रम सम्झौताले श्रमिकको अधिकारलाई केन्द्रमा राख्नुपर्छ : आईएलओ

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Labor contracts should put workers' rights at the center: ILO

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का नेपाल प्रमुख न्युमन ओज्कनले नेपालले गन्तव्य देशसँग गर्ने श्रम सम्झौताले वैदेशिक रोजगारीमा गएका श्रमिकको अधिकारलाई केन्द्रमा राख्न आवश्यक रहेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आईएलओको अन्तर्राष्ट्र्रिय तालिम केन्द्र (आईटिसी)द्वारा काठमाडौंमा आयोजित श्रम सम्झौताको विकास, सौदाबाजी र कार्यान्वयन सम्बन्धी आवासीय तालिमलाई सम्बोधन गर्दै ओज्कनले गन्तव्य र स्रोत देशबीच भएको श्रम सम्झौताले श्रमिकको अधिकारलाई प्रत्याभूति गर्न दुवैको भूमिकालाई एक ठाउँमा ल्याउने बताए ।

‘श्रम आप्रवासनमा नेपाली श्रमिकले चुनौतीको सामना गरिरहेको छ । श्रमिकको अधिकारको रक्षा गर्नु दुवै देशको दायित्त्वभित्र पर्छ,’ उनले भने, ‘श्रम सम्झौतामा श्रम सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरु समावेश हुनुपर्छ । यसको लागि सौदाबाजी गर्न सीप चाहिन्छ ।’

उनले मर्यादीत श्रम, पारदर्शी भर्ना प्रक्रिया, सुरक्षित कार्यस्थलदेखि श्रमिकले पाउनुपर्ने अधिकारको रक्षा गर्न आईएलओले गन्तव्य र स्रोत देशबीच सहजीकरण गरिरहेको बताए । ‘श्रम सम्झौता सम्बन्धी संयुक्त राष्ट्र संघको गाइडलाइन बनाइएको छ । यस अनुसार श्रम सम्झौता भएमा श्रमिकको सबै अधिकारहरु रक्षा र सुनिश्चित गर्छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully