युवा संघको अध्यक्षमा पुन: क्षितिज थेबे निर्वाचित

सचिवमा पुरी प्यानलका अरुण कुँवर विजयी

जेष्ठ १३, २०८२

दीपक परियार

Kshitij Thebe was re-elected as the President of the Youth Association

पोखरा — एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे पुन: निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी सुमन पुरीलाई १ सय ८८ मतान्तरले पराजित गर्दै उनी दोस्रोपल्ट अध्यक्षमा निर्वाचित भएका हुन् । थेबेले ७ सय ९६ मत पाउँदा पुरीले ६ सय ८  मत प्राप्त गरे । कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो । 

पुरी यसअघि महासचिव थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो । 

महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७ सय ५५ मत ल्याउँदा पुरी प्यानलका कुबेर अधिकारीले ६ सय ४९ मत प्राप्त गरे । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र पुरी प्यानलका अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भएका छन् । 

अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित भएका छन् । पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार थिए । 

अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका थिए । 

संघको १० औं  अधिवेशनले १ सय ६३ जना निर्वाचित गर्नुपर्नेमा ६४ पदमा निर्विरोध निर्वाचित भएका थिए । अधिवेशनको उद्घाटन गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully