काठमाडौँ — कांग्रेस सांसद डा. सुनिल शर्माले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नु नै बुद्धिमानी हुने बताएका छन् । संसद् भवन बाहिर मंगलबार सांसद शर्माले संसद्सम्म विवाद पुगिसकेपछि गृहमन्त्रीले राजीनामा दिनु नै उपयुक्त हुने बताए ।
गृहमन्त्री लेखकलाई विवाद उत्पन्न भइसकेपछि राजीनामा दिएर नैतिकता देखाउन शर्माले सुझाव दिए । 'गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो माग होइन, सुझाव हो । हाम्रो सुझाव, सल्लाह हो कि यति ठूलो विवाद भइसकेपछि नैतिकताका आधारमा राजीनामा दिएर एक महिना पछाडि अनुसन्धान सकेर आए भइहाल्छ नि भन्ने मेरो व्यक्तिगत धारणा हो,' उनले भने ।
गृहमन्त्री लेखकमाथि प्रश्न उठाएर विपक्षी दलका सांसदहरूले सदन अवरुद्ध गरेका थिए । बजेट प्रस्तुत गर्ने दिन जेठ १५ अघि नै गृहमन्त्री लेखकले राजीनामा गर्नु बुद्धिमानी हुने शर्माको भनाइ थियो । ‘पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ । यद्यपि हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ । स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ । मलाई लाग्छ बेलुकासम्म केही आउला । नआए दुई/चार दिनभित्र आउला किनभने १५ गते बजेट भाषण छ । बुद्धिमानी र नैतिकवान कुराचाहिँ राजीनामा दिनु नै हुन्छ,’ उनले भने ।
राजनीतिमा नैतिकता प्रदर्शन गर्ने कुरा स्वयं नेतामा भर पर्ने भएको कारण अहिलेको अवस्थामा गृहमन्त्रीले मार्ग प्रसस्त गर्नु नै नैतिकवान र बुद्धिमानी हुने शर्माको भनाइ थियो ।
