काठमाडौँ — प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेपछि ३० मिनेटका लागि संसद् स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद्को नियमित प्रक्रियामा अवरोध गर्दा सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सहयोग गर्न राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध पारेका हुन् ।
सभामुख घिमिरेले आजको बैठकको कामकारबाही प्रारम्भ हुन्छ भन्नेबित्तिकै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।
पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौं असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताउँदै गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका थिए ।
सभामुख घिमिरेले प्रतिपक्षी सांसदलाई पटकपटक बस्न अनुरोध गर्दै आजको बैठकको कामकारबाही सञ्चालन गर्ने बताइरहे । तर विपक्षी सांसदले गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजीसमेत गरे । सभामुखले रास्वपाका सांसद् शिशिर खनाललाई बोल्न समय दिए । सांसद खनालले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।
उनको भनाइ सकिएपछि सभामुख घिमिरेले फेरि सांसदलाई बस्न आग्रह गरे पनि सांसदहरुले विरोध जनाइरहेपछि ३० मिनेटका लागि आजको बैठक स्थगित गरिएको घोषणा गरे ।
राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने भन्दै विपक्षी दलहरूले सदनमा होहल्ला र नाराबाजी गरेका छन्।
