कास्की — नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया रोकिएपछि नाराबाजी भएको छ ।
अध्यक्ष पदका उम्मेदवारी सुमन पुरी पक्षधर नेता-कार्यकर्ताले सोमबार साँझ महाधिवेशन स्थल पोखरा सभागृह गेटमा नाराबाजी गरेका हुन् । उनीहरूले तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै करिब १५ मिनेट नाराबाजी गरे ।
सोमबार दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कमिटीको तालिका थियो । तर, निर्वाचन कमिटीले यो समाचार प्रकाशन हुँदासम्म अन्तिम नामावली प्रकाशन गरेको अवस्था छैन । उम्मेदवारको नामअनुसार क्रम संख्या मिलाउँदा समय लागेको निर्वाचन कमिटीको भनाइ छ । आज ढिला भएकाले मतदान मंगलबार बिहानबाट सुरु गर्ने कमिटीको तयारी छ ।
गत शुक्रबारदेखि सुरु भएको १० औँ महाधिवेशनबाट अध्यक्ष बन्न क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन् । उनीहरूले प्यानलसहित प्रचारप्रसार गरिरहेका छन् ।
