युवा संघ अधिवेशन : ओली निर्वाचन गराउन तयार, मंगलबार मतदान

जेष्ठ १२, २०८२

अनुप पौडेल

Youth Union Convention: Oli ready to conduct elections, vote on Tuesday

कास्की — राष्ट्रिय युवा संघ नेपालको नयाँ कमिटी निर्वाचनमार्फत् टुंगो लगाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन्। निरन्तर ३ दिनदेखि जारी सर्वसम्मत गराउने प्रयास असफल भएपछि ओलीले सोमबार साँझ नेताहरूलाई निर्वाचन गराउन सन्देश दिएका हुन्।

ओलीले क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्‍याउन चाहेका थिए। वर्तमान महासचिव सुमन पुरीले दाबी नछोडेपछि मतदानबाट नयाँ कमिटी टुंगो लाग्ने भएको हो।

दुई पटक उपाध्यक्ष, एक पटक महासचिव बनेकाले अध्यक्ष हुन पाउनुपर्ने अडान उनले सोमबार पनि कायम राखे। यसपछि अध्यक्ष मण्डलसँगको परामर्शमा निर्वाचन कमिटीले मंगलबार बिहान ८ बजेदेखि मतदान सुरु हुने सूचना प्रकाशन गरेको छ । 

थेबेलाई अध्यक्ष घोषणा गर्ने, पदाधिकारी र सदस्य पनि पेलेरै घोषणा गर्नेसम्मको मनस्थितिमा नेताहरू थिए । पुरीको पक्षमा पनि माहोल राम्रो रहेको र पेलेर जाँदा मुठभेड नै हुनसक्ने सम्भावना पोखरामा रहेका नेताहरूले ओलीलाई खबर गरेका थिए ।

युवा संघको निर्वाचन गराउन पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालको नेतृत्वमा इन्चार्ज राजीव पहारी, पूर्वाध्यक्षहरू महेश बस्नेत, निरूदेवी पाल र किरण पौडेल सदस्य रहेको अध्यक्ष मण्डल छ । 

निर्वाचनमा भाग लिन अध्यक्षका दुवै दाबेदारले सदस्यसम्मको प्यानल तयार पारिसकेका छन् । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र देवबहादुर बस्नेत, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम उम्मेदवार छन् । अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा उम्मेदवार छन् । 

पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार छन् । अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका छन् । 

सचिव खुल्लामा वकिलबहादुर बम, मिनाकुमारी राई (रञ्जु), सचिव मधेसीमा विकास झा, सचिव महिलामा रोजिना पाण्डे (उमा)ले दुवै प्यानल बाहिर रहेर उम्मेदवारी दिएका छन् । 

युवा संघका इन्चार्ज राजीव पहारीले रातभरमा सर्वसम्मत हुने दाबी गरे । निर्वाचन प्रक्रियामा गएपनि एउटा पक्ष सर्वसम्मत गर्न तयार भएमा सहमतिको आधारमा नयाँ नेतृत्व घोषणा हुने उनको भनाइ छ । पार्टी अध्यक्षले निर्वाचन गराउन भनेर आदेश दिएको भन्ने विषय हुइयाँ भएको उनले जिकिर गरे । ‘पार्टी अध्यक्षले अहिले भन्नुभयो भन्ने कुरा हुइयाँ हो । उहाँले उद्घाटन सत्रमै सके सर्वसम्मत, नभए लोकतान्त्रिक विधि अपनाउन भनेर भन्नुभएकै थियो,’ उनले भने।  

मतदानमा ४५ वटा भोटिङ मेसिन प्रयोग गरिनेछ । महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन् ।

अनुप

Link copied successfully