बत्ती नजाँदै गयो भनेर आतंक फैलाउनेको नम्बर नोट गरेर प्रहरीलाई दिनुस्, दण्डित गरिन्छ: उर्जामन्त्री खड्का

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Write down the number of those who spread terror because the light is not working and give it to the police, they will be punished: Energy Minister Khadka

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले आवश्यकताअनुसार विद्युत् आपूर्ति गरिरहेको बताएका छन्। आइतबार साँझ कुलेश्वरस्थित नो लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्ति समस्या, उपभोक्ताको गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।

विद्युत् जानु विद्युत् अभावका कारण नभई विपद्‌जन्य घटनाले पारेको अवरोध रहेको भन्दै सरकारले उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत् पाउन सकुन् भन्ने उद्देश्यअनुसार काम गरिरहेको उल्लेख गरेका छन्।

कृत्रिम रूपमा अफवाह फैलाएर ‘बत्ती छैन’ भन्ने भ्रम फैलाइएको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरेका छन्। हाल नेपालले विद्युत् आयात नगर्नु परेको र आफ्नै विद्युत् पर्याप्त मात्रामा उपलब्ध रहेको दाबी गर्दै मन्त्री खड्काले विगतको तुलनामा अहिले बढी प्रभावकारी रूपमा विद्युत् आपूर्ति भइरहेको बताए ।

उनले भने, 'बत्ती गइरहेको भन्ने कुरा विद्युत् अभावका कारण होइन। हाम्रो चाहना हो, उपभोक्ताले सुरक्षित र भरपर्दो विद्युत् प्राप्त गर्न सकुन्। अहिले देखिएको समस्या हावाहुरी, चट्याङजस्ता प्राकृतिक कारणले अवरोध आउँदा हो। यस्ता घटना अघिल्ला वर्षहरूमा पनि भएका थिए। भोलि पनि हुन सक्छन्। त्यस अवस्थालाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ। कृत्रिम रूपमा अफवाह फैलाउने प्रवृत्ति देखिन्छ, तर त्यो सत्य होइन। अहिले हामीले विद्युत् आयात गरेका छैनौँ। आवश्यकताअनुसार विद्युत् आपूर्ति गर्न सकिरहेका छौँ। उपभोक्ता र देशवासीलाई आग्रह छ, हिजोको भन्दा आज राम्रो आपूर्ति भइरहेको छ। हल्लाको पछि नलाग्नुहोस्।'

मन्त्री खड्काले विद्युत् नबिग्रिएको अवस्थामा पनि ‘बत्ती गयो’ भनेर आतंक फैलाउनेहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिए । नो लाइट शाखामा विद्युत् आपूर्ति भइरहे पनि नभएको भन्दै फोन आउने गरेको र क्रस चेक गर्दा विद्युत् आपूर्ति भइरहेको पाइएकाले त्यस्ता कलकर्ताहरूको नम्बर टिपेर प्रहरीलाई दिन आग्रह गरिएको छ।

उनले भने, 'अझै पनि धेरै फेक कलहरू आइरहेका छन्। चौबिसै घण्टा टेलिफोन उठाउने र विद्युत् अवरुद्ध भएको ठाउँमा आपूर्ति दिने व्यवस्था छ। केही उपभोक्ताले कहाँ बत्ती गयो भनेर जानकारी दिएका छन् भने केहीले बत्ती आएको भन्दै जानकारी गराउँछन्। क्रस चेक गर्दा विद्युत् आपूर्ति भइरहेको पाइएको छ। कुनै कारणले अफवाह फैलाइएको हो भने कृपया त्यस्तो नगर्नुहोस्। त्यस्ता टेलिफोन नम्बर टिपेर प्रहरीलाई दिनुहोस्। अफवाह फैलाउने र आतंक सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबाही गरिने छ।'

कान्तिपुर

Link copied successfully