काठमाडौँ — चैत १५ पछि प्रहरी परिसर काठमाडौँको थुनुवा कक्षमा बिस्तारै चहलपहल बढन थाल्यो। किनकि हरेक दिन तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन र त्यस लगत्तै भएको लुटपाटमा संग्लनहरू धमाधम पक्राउ पर्न थाले। प्रहरीले ९० जनालाई त थुनेरै अनुसन्धान गर्यो।
थुनुवा धेरै भएपछि तिनलाई भेट्न आउने नातेदार, शुभेच्छुकदेखि साथीभाइको भीड नुहुने त कुरै भएन । तर यही भीडमा पनि प्रहरीको थुनुवा कक्षमा एक्लै छन्, १६ वर्ष उमेर बताउने एक किशोर ।
थुनामा रहेकाहरूलाई भेट्न कोही खानेकुरा बोकेर आइरहेका छन्। कोही किताब र सन्देश बोकेर। कोही थुनुवालाई भने शुभेच्छुकहरू सान्त्वना दिँदै भनिरहेको पनि सुनिन्छ, ‘छिट्टै निस्किन्छौ नि!’ तर थुनुवा कक्षाको एउटा कुनामा शान्त र मौन छन् ती १६ वर्षीय किशोर । प्रहरीसँग यी किशोरको नाम बाहेक अरू व्यक्तिगत विवरण छैन ।
प्रहरीले ती किशोरको उमेर १९ वर्षको भनेर दर्ता किताबमा टिपे पनि उनको उमेर प्रमाणित हुने सरकारी कागजात प्रहरीसँग छैन । ती किशोरले भने आफ्नो उमेर १६ वर्ष मात्रै भएको बताइरहेका छन् । नागरिकता र जन्मकर्ता पनि नभएका यी किशोरलाई भेट्न अहिलेसम्म एक जना मात्रै आएको थुना शाखामा कार्यरत एक प्रहरीले बताए ।
कान्तिपुरसँगको कुराकानीमा ती किशोरले सुनाए, ‘एक दिन मेरो आमा आउनु भएको रहेछ । प्रहरीलाई १९ वर्षको उमेर भनेर टिपाउनु भएछ।’ ती किशोरले कान्तिपुरसँग आफ्नो उमेर १६ वर्ष मात्रै भएको दोहोर्याउँदै थुनामुक्त भएपछि जन्मकर्ता र नागरिकता बनाउने प्रक्रिया सुरु गर्ने बताए ।
उनको नागरिकता र जन्मकर्ता किन बनेन त ? यसैमा छ उनको अत्यासलाग्दो बाल्यकालको कथा । काठमाडौँको एक कम्पनीमा लेबर काम गर्ने उनले आफू तीन–चार वर्ष हुँदा बाबुले छोडेर गएको र केही वर्ष अघि नै आमाले छोडेर अर्कै बिहे गरेको बताए । बाबु र आमा दुवैबाट परित्यक्त भएपछि आफू भौँतारिएर हिँडेको र केही समय अघि एक कम्पनीमा खाने बस्ने गरी लेबरको काम पाएको बताए ।
आफ्नो पुरानो घर धरान भन्नेबाहेक उनीसँग आफ्नो परिवारको विस्तृत सूचना समेत छैन । प्रहरी बयानका क्रममा पनि उनले आफ्नो विगतका र बाल्यकालबारे यही कुरा बताएका छन् । राजावादीको आन्दोलनमा यी किशोर कसरी जोडिए त ?
कान्तिपुरको यही प्रश्नमा उनी फिस्स हाँसे अनि भने, ‘के भन्नु र खै ?’ उनले आफू त्यस दिन शान्तिनगरमा बालुवा अनलोड गरेर आलोकनगरस्थित डिपोतर्फ जाँदै गरेको बताए । उनले भने, ‘मानिसहरूको भीड थियो । तोडफोड गर्न आउनु भनियो । न आए कुट्छु भनेर चार/पाँच जनाले धम्काए । त्यही डरले नेकपा एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा ढुङ्गा प्रहार सुरु भयो ।’ उनले आफूले मान्छे वा फोटो देखे आफूलाई ढुङ्गा हान्न लगाउने मान्छे चिन्ने बताएका छन् ।
प्रहरीले उनलाई एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको भवनमा ढुङ्गा हानेको आरोपमा चैत्र २२ गते नियन्त्रणमा लिएको थियो। थुनामा उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर जबरा र दुर्गा प्रसाईँलाई पहिलो पटक देखेको बताए । ‘मैले उहाँहरूलाई पहिलो पटक देखेको हुँ,' कार्कीले भने,‘तर उहाँहरूसँग बोलचाल भएन । ’
प्रहरी अधिकृतहरू पनि थुनुवा कक्षमा रहेका उनलाई पीडित नभएको परिभाषित गर्छन्। तर कानुनी कारण छाड्न नमिल्ने बताउँछन्। सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौला उनको कुनै पनि कागजात नभएकाले आमाले भनेको उमेरको आधारमा मुद्दा दर्ता गरिएको बताए।
बालबालिकाको हकमा भने कानुनले बाल अदालतमा मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था छ । ‘उनको परिचय खुल्ने कुनै सरकारी कागज भेटिएन,’ निरौलाले भने, ‘आमाले भनेको आधार बनाएर सङ्गठित अपराध र आपराधिक उपद्रव तर्फ मुद्दा दर्ता गरिएको हो । ’
सरकारी वकिलको कार्यालयले प्रसाईँसहित ५० र ११ जनाको छुट्टाछुट्टै अभियोग पत्र बनाएर मुलुकी फौजदारी कार्यविधि सहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दायर गरेको छ । ११ जनालाई आपराधिक उपऽवअन्तर्गत र अन्यलाई व्यक्ति विशेष मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ । हिंसात्मक प्रदर्शनमा संलग्न भएका उनी बाहेकका आरोप लागेका चार बालकविरुद्ध पनि बाल अदालतमा मुद्दा दायर गर्ने तयारी चलिरहेको छ ।
