काठमाडौँ — प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा विचाराधीन 'विद्युत् विधेयक, २०८०' माथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नै लगानी रहेको होटलमा 'दफावार छलफल' चलाएका छन् । समितिले विद्युत् विधेयकमाथि दफावार छलफल जारी राखेका बेला मन्त्री खड्काले समितिका सचिव र विज्ञहरूलाई लगेर होटलमा के विषय राख्ने र के नराख्ने भनेर छलफल गरेका हुन् ।
मन्त्री खड्काले आफ्नो लगानी रहेको बुढानीलकण्ठस्थित होटल 'होलिडे इन'मा छलफल चलाएका हुन् । उक्त छलफलमा विधेयकमाथि दफावार छलफल गर्ने समितिका सभापति दीपकबहादुर सिंह, विधेयक टुंगो लगाउन गठित उपसमितिका संयोजक गोकर्ण विष्टसहित समितिमा रहेका सांसदलाई भने बोलाइएको थिएन ।
समितिका सचिव उदयकुमार भण्डारी, कानुन मन्त्रालयका अधिकारी, ऊर्जा मन्त्रालयका अधिकारी, पूर्वाधार विकास समितिका सभापति सिंहका विज्ञ सल्लाहकारसमेत रहेका पूर्व ऊर्जासचिव सुमन शर्मा, पूर्व ऊर्जासचिव दिनेशकुमार घिमिरे लगायतलाई राखेर छलफल गरिएको हो ।
छलफलबारे मन्त्री खड्काले फेसबुकमा तस्बिरसहित जानकारी लेखेका छन् । 'नेपालको ऊर्जा तथा जलविद्युत् सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्दै सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिको मार्ग प्रशस्त गर्न विद्युत् विधेयक अपरिहार्य छ । यसलाई मैले मेरो प्रमुख जिम्मेवारीको रूपमा लिएर सचिवज्यू, पूर्वसचिवज्यूहरू, ऊर्जा विज्ञज्यूहरू, नियामक निकाय, मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिसँग समन्वय गर्दै विस्तृत छलफल गरेको छु,' खड्काले लेखेका छन्, 'हाम्रो संयुक्त प्रयासबाट तयार भएको यो विधेयकले वर्तमान ऊर्जा चुनौतीहरूलाई प्रभावकारी रूपमा समाधान गर्ने साथै जलविद्युत् विकासमा तीव्र गति ल्याउने विश्वास छ । यो विधेयकले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने, निजी र वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने र सम्पूर्ण नेपालीका लागि समृद्ध तथा उज्जवल भविष्यको मजबुत आधार निर्माण गर्नेछ ।'
विचाराधीन विधेयकमाथि मन्त्रीले आफ्नै लगानी रहेको होटलमा छलफल गर्नु शंकास्पद रहेको समितिका एक सांसदले बताए । 'विद्युत् विधेयकको बारेमा समितिमा छलफल भएको थियो । त्यहाँ विधेयकमा राख्ने प्रावधानबारे सरकारको तर्फबाट ऊर्जामन्त्री खड्काले धारणा नै राख्नुभएन,' ती सांसदले भने, 'मन्त्रालयले राम्रो तयारी गरोस् भनेर समय दिने भन्ने सल्लाह भएको थियो तर विधेयक नै लगेर आफ्नो होटलमा गई दफावार छलफल चलाउनुभएछ । गोकर्ण विष्ट माननीय संयोजक रहेको उपसमितिमा विचाराधीन विधेयक मन्त्रीले होटलमा लगेर दफावार छलफल गरी समितिका सचिव, मन्त्रालयका अधिकारीलाई सोहीअनुसार गर्न भन्नु गम्भीर विषय हो ।'
ऊर्जा मन्त्रालयका एक पूर्वसचिवले संसदीय समितिको सम्पत्ति भएको विधेयकमाथि मन्त्रीले होटलमा छलफल गर्नु विधिसम्मत नरहेको बताए । 'विधेयक संसद्मा प्रवेश गरेपछि संसद् वा संसदीय समितिले दफावार छलफल गर्ने र मन्त्रालयका मन्त्री र सचिवले सरकारको धारणा राखेर संसद्ले पारित गरेको विषय स्वीकार गर्ने हो,' ती सचिवले भने, 'संसद्ले कानुन निर्माणमा गरेको निर्णय मन्त्रीले स्वीकार गर्ने हो । मन्त्रालयको मन्त्री र सचिवलाई चित्त नबुझे पनि स्वीकार गर्ने हाम्रो व्यवस्था हो ।'
पूर्वाधार विकास समिति सचिव भण्डारीले भने विद्युत् विधेयकमाथि विष्ट संयोजक रहेको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि धारणा बनाउन मन्त्रालयले समय माग गरेको बताए । आगामी शुक्रबारबाट विधेयकमाथि समितिमा छलफल हुने जानकारी दिएका उनले मन्त्रीको होटलमा विधेयकमाथि भएको छलफलबारे भने बोल्न चाहेनन् । उनी पनि उक्त छलफलमा सहभागी थिए । विधेयकमाथि छलफल भएको होटल कसको हो भन्ने आफूलाई जानकारी नरहेको उनले बताए ।
