महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन
काठमाडौँ — काठमाडौं महानगरपालिकाका ४१ कार्यपालिका सदस्यले मेयर बालेन्द्र साहलाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका छन् । आज बसेको अनौपचारिक बैठकले यस्तो माग गरेको हो ।
४२ सदस्य रहेको कार्यपालिकामा मेयर साहबाहेक सबैको उपस्थिति थियो । कार्यपालिकामा कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन । प्रमुखको काम, कर्तव्य र अधिकारमा पनि सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने उल्लेख छ ।
‘कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाभित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्,’ प्रवक्ता नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्म बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।'
बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएपछि मेयरलाई घचघच्याएको उनले बताए ।
