काठमाडौँ — न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार जेठ १४ र १५ गते दुई दिन उनी काठमाडौँमा रहने छन्।
न्युजिल्यान्डबाट उपप्रधान तथा विदेशमन्त्री जस्तो उपल्लो तहको राजनीतिक नेतृत्वको यो पहिलो नेपाल भ्रमण रहेको परराष्ट्र मन्त्रालयलेले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव कृष्ण ढकालले न्युजिल्यान्डका उपप्रधान तथा विदेश मन्त्रीको मैत्रीपूर्ण औपचारिक यात्रा हुन लागेको बताए। श्रीलंकाको भ्रमण सकेर पिटर्स नेपाल आउँदै छन्। नेपालको भ्रमण पछाडि उनी भारत यात्रामा जानेछन्।
न्युजिल्यान्ड सरकारद्वारा जारी प्रेस वक्तव्यमा पिटर्सले अस्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको यात्रा गर्ने उल्लेख छ । श्रीलंकामा सन् २०१३ पछाडि न्युजिल्यान्डको विदेश मन्त्रीको पहिलो भ्रमण हो । नेपालसँगको विशेष सम्बन्ध रहेको न्युजिल्यान्डले भनेको छ ।
न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपाली नागरिक तेन्जिङ शेर्पाले सन् १९५३ मा सगरमाथा चढेका थिए । मन्त्रालयका प्रवक्ता ढकालका अनुसार गत वर्ष परराष्ट्रमन्त्री एनपी साउदले न्युजिल्यान्ड भ्रमण गरेका थिए ।
‘दुई देशबीच मित्रवत् र ऐतिहासिक सम्बन्ध छ । सम्बन्ध र सहकार्यलाई बढाउन द्विपक्षीय भ्रमणको आदान प्रदान भएको हो,’ उनले भने, ‘यस्ता भ्रमणहरूले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ ।’ पछिल्लो समय दुई देशबीचको ‘इन्गेजमेन्ट’ बढ्दै गएको छ।
न्युजिल्यान्डमा नेपालका १२ सय विद्यार्थी अध्ययनरत छन् । त्यस्तै, त्यहाँ पेसा व्यवसाय गरेर बसेका तथा रोजगारीका लागि जाने नेपालीहरूको संख्यापनि बढ्दो छ । न्युजिल्यान्ड सरकारले हिमाली क्षेत्रको विकास त्यहाँको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ।
त्यस्तै, २०७२ को विनाशकारी भूकम्प पछाडि राहत कार्यमा पनि सहयोग गरेको थियो । दुवै देशमा एक अर्काको दूतावास भने छैन । दिल्लीमा रहेको न्युजिल्यान्डको दूतावासले नै नेपाल हेर्दै आएको छ ।
काठमाडौँमा रहँदा पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय बैठक गर्ने मन्त्रालयले उल्लेख गरेको छ ।
