काठमाडौँ — सत्तारूढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी कांग्रेसले नलिने स्पष्ट पारेको छ।
सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले प्रधानमन्त्री ओली नेकपा (एमाले) का अध्यक्ष समेत रहेको बताउँदै उनले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिने कुरा नरहेको स्पष्ट गरेका हुन् ।
उनले आफूहरू समग्र संविधानको प्रतिरक्षामा रहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना विचार राख्न पाइने र त्यसलाई शान्तिपूर्ण तरिकाबाट गर्नु पर्ने कुरा प्रवक्ता महतले उल्लेख गरे।
राजावादीहरूले जेठ १५ गतेका लागि आह्वान गरेको आन्दोलनको सन्दर्भमा उनले संविधानविरुद्धका गतिविधिहरू कांग्रेसका लागि स्वीकार्य नहुने बताए ।
उनले भने, 'प्रधानमन्त्री एमाले पार्टीका नेता पनि हुनुहुन्छ। सबै उनले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन। हामीलाई कब्जा सब्जामा ध्यान छैन। हामी समग्र संविधानको प्रतिरक्षाको पक्षमा छौँ। संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुराहरू राख्न पाइन्छ। तर, त्यो शान्तिपूर्ण तरिकाबाट राख्नुपर्दछ। संविधानको खिलाफमै जान्छौँ भन्ने कुरा ठीक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ।'
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक कार्यक्रममा जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले गणतन्त्र दिवसको दिन बिहान ११ बजेदेखि २ बजेसम्म काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए । —न्युज एजेन्सी नेपाल
