युवामा राजनीतिक चेतना बढाउन, युवा आन्दोलन अघि बढाउन पार्टी अध्यक्षले मलाई अघि सार्नुभयो : थेबे
कास्की — सर्वसम्मत गराउने नेताहरूको दुई दिनदेखिको प्रयास असफल भएपछि नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व मतदानबाटै टुंगिने अवस्थामा पुगेको छ । वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी पोखरामा जारी १० औं महाधिवेशनबाट अध्यक्ष बन्ने दौडमा उभिएका छन् ।
थेबेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ भने पुरीलाई एमालेमा विकास भइरहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले साथ दिएको छ । थेबेलाई एक कार्यकाल दोहोर्याउने, बाँकी आकांक्षीलाई पार्टीको केन्द्रीय कमिटी र भूगोलको राजनीतिमा जिम्मा दिने ओलीको चाहना थियो ।
अन्य पार्टीमा जसरी झगडा नगर्न, युवा संघमा नहुनेलाई पार्टीमा जिम्मेवारी दिने विषय गत शुक्रबार आयोजित उद्घाटन सत्रमै अध्यक्ष ओलीले खुलेर भनेका थिए । आफ्नो इच्छा बुझेपछि थेबेविरुद्ध अरू नउत्रने ओलीको सोच थियो । ‘आफूलाई भेटिराख्ने, राम्रै सम्बन्ध भएको मान्छेले मैले भनेको मान्छ भन्नेमा अध्यक्षज्यू हुनुहुन्थ्यो,’ युवा संघका एक नेताले भने, ‘अन्य सबैले मान्नुभयो । उहाँ (पुरीजी)ले खोइ किन मान्दै मान्नुभएन ।’
युवा संघको निर्वाचन गराउन एमाले जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, युवा संघ इन्चार्ज एवं पूर्वाध्यक्ष राजीव पहारी, पूर्वअध्यक्षहरू महेश बस्नेत, निरुदेवी पाल, किरण पौडेल दुई दिनदेखि निरन्तर खटिएका थिए । अन्य सबै आकांक्षीले ओली चाहना बुझेर दाबी छोडे पनि पुरीले अध्यक्षमा लड्ने अडान छोडेनन् । नेताहरूले थेबेलाई र पुरीलाई आधा–आधा कार्यकालको प्रस्ताव पनि गरेका थिए ।
४० वर्षे उमेर हदले पूरा कार्यकाल चलाउन नपाउने भएपछि पुरीलाई भूगोलको राजनीतिमा क्रियाशील हुन नेताहरूको सुझाव थियो । दुई पटक उपाध्यक्ष, एकपटक महासचिव भएकाले अध्यक्ष पाउनुपर्ने उनले नेताहरूलाई बताइरहे । आइतबार बिहानसम्म पनि पुरी पछि नहटेपछि चुनाव हुने पक्का भएको हो ।
दुवै पक्षले निर्वाचनमा सहभागी हुन प्यानल नै तयार पारिसकेका छन् । अध्यक्ष, दुई खुला उपाध्यक्ष, महासचिव, उपमहासचिव, दुई खुला सचिव, मधेश र महिला सचिव गरी ९ पदाधिकारी, आयोग पदाधिकारी र सदस्यसहित १ सय ६३ पदका लागि निर्वाचन हुनेछ ।
थेबे प्यानलबाट उपाध्यक्षमा विनय शाह र महाराज गुरुङ, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही उम्मेदवार छन् । पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिवमा कुवेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार छन् ।
थेबेले पोखरा आउँदासम्म अध्यक्षमा नदोहोरिने बताइरहेका थिए । उनी ताप्लेजुङबाट पार्टी र संसदीय राजनीतिमा सक्रिय हुने सोचमा थिए । महाधिवेशन सुरु भएपछि अध्यक्ष ओलीले एकपटक थेबेलाई नै दोहोर्याउन निर्देशन दिए । यसपछि थेबेले ओलीको चाहना नकार्न सकेनन् । सर्वसम्मत नभएपछि थेबे चुनावमै होमिए ।
आफूलाई पार्टी अध्यक्षले नै अघि सारेपछि पुनः उम्मेदवार बनेको थेबेले बताए । ‘आम युवालाई राजनीतिक चेतनाका साथ अगाडि बढाउन सक्ने लिडर चाहिएको छ भन्ने बुझेर पार्टी नेतृत्वले युवा आन्दोलन अघि बढाउन हामीलाई अघि सार्नुभएको छ । यथार्थ यही हो,’ उनले भने ।
अध्यक्षका दाबेदार पुरी पार्टी अध्यक्षले उद्घाटन सत्रमा भनेजस्तै स्वच्छ प्रतिस्पर्धा गर्न आफू मैदानमा उत्रिएको बताए । ‘बहालवाला अध्यक्ष निर्वाचनमा भाग लिन आउँदा त्यो अड्कलबाजी हो,’ उनले भने, ‘पार्टी अध्यक्षले खुला सत्रमै सकेसम्म सर्वसम्मत गर्नूस्, नभए स्वच्छ प्रतिस्पर्धा गर्नुस् भन्नुभएको छ ।’
महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन् । सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म पोखरा सभागृहमा मतदान हुने तालिका छ । मतदानका लागि ४५ वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ ।
