तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति करिब ११:३० बजेको समयमा जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।
दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार जिपमा पाँच जना सवार थिए । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा प्राथमिक उपचारपश्चात् एक जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
घाइतेमध्ये एक जना गम्भीर छ भने चालकको अवस्था सामान्य रहेको छ ।
मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
