जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री राणा

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Japan visit successful: Foreign Minister Rana

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् ।

जापान भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेश मन्त्रीसहित विभिन्न महत्त्वपूर्ण भेटवार्ता भएका तथा नेपाल जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिँदै ती भेटवार्ता मुलुकका लागि उपलब्धिमूलक रहेका जानकारी दिइन् ।   

मन्त्री राणाले भनिन्, 'यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरूका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरूका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशहरूले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाहरूका बारेमा पनि जान्ने मौका मिल्यो ।'  

परराष्ट्रमन्त्री राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।  

त्यसैगरी मन्त्री राणाले जेठ ९ गते जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाहरूका बारेमा कुराकानी गरेकी थिइन् । 

यसअघि उनीसँग जापानका उपविदेशमन्त्री इकुइना अकिकोले पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन् । गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई मन्त्री राणाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

जापानमा रहँदा मन्त्री राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन पनि गरेकी थिइन् । जापानको भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्कनुभएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई सहित अधिकारीहरूले स्वागत गरेका थिए । उनी गत सोमबार जापान गएकी थिइन् ।

कान्तिपुर

Link copied successfully