कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुन् : प्रधानमन्त्री ओली

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

It is Prachanda who is spreading rumors that I have 32 billion investment in Cambodia: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानी छ भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहालले हल्ला चलाएको आरोप लगाएका छन् ।

आइतबार एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी एकतापछि दाहाललगायतका नेताबाट आफूमाथि प्रहार भएको बताएका हुन् । 

'कम्बोडियामा मेरो र३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने व्यक्ति ‘प्रचण्ड’ हुन् । त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन्,' प्रधानमन्त्री ओलीले भने । यद्यपि माओवादी अध्यक्ष दाहालले कहिले र कहाँ आफूमाथि उक्त आरोप लगाए भन्नेबारे भने प्रधानमन्त्री ओलीले केही खुलाएनन् । 

नेपाल र खनाल एमाले नेतृत्वमा हुँदा राम्रोसँग पार्टी चल्न नसकेको पनि ओलीको आरोप छ । उनले अगाडि भने, 'पछिसम्म पार्टीचाहिँ कब्जामा लिएर बस्न खोजे । हामीले निकम्मा, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा उनीहरूलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् ।'

प्रधानमन्त्री ओलीले एमालेलाई स्पष्ट बहुमत ल्याउने ‘मिसन २०८४’ मा जुट्न जनप्रतिनिधिलाई आग्रहसमेत गरेका छन् । 

कान्तिपुर

Link copied successfully