तीनकुने घटनाको अघिल्लो दिन निर्मल निवासमा ज्ञानेन्द्र शाहलाई भेटेको हुँ : प्रसाईं

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

I met Gyanendra Shah at Nirmal Niwas the day before Tinkune incident: Prasain

काठमाडौँ — दुर्गा प्रसाईंले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आगजनी, लुटपाट र तोडफोड गरेको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको बयान दिएका छन् । प्रहरीसमक्ष दिएको बयानमा चैत १४ मा शाहलाई निर्मल निवासमा भेटेको प्रसाईंको बयान छ ।

राजसंस्था पुनर्स्थापना गर्न गठित आन्दोलन समितिले ज्ञानेन्द्र शाहलाई भेटेपछि प्रसाईंलाई 'जनकमाण्डर' घोषणा गरेको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दाको बयानमा प्रसाईंले पूर्वराजा शाहसँगको आफ्नो सम्बन्धबारे उल्लेख गरेका छन् । सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गरेको हो । प्रसाईं हाल प्रहरीको हिरासतमा छन् भने पूर्वराजा शाहले जेठ १५ गते राप्रपा लगायतका दल र राजावादी समूहहरूलाई आन्दोलन गर्न भित्रभित्रै अभियान चलाइरहेका छन् ।

शाहसँग सम्बन्धित बयानमा प्रसाईंले भनेका छन्, 'यो नेताहरूबाट देश चल्दैन, तपाईं आफैं आएर देश चलाउनु पर्छ, हामी नेपालीहरूको अभिभावक हुनु पर्दछ, किनकि यो देश तपाईको जिजु बडा महाराजधिराज श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आर्जेको देश भएकोले तपाईं पुनः आउनुपर्‍यो भनेर म पटक पटक भेट्न गएको हुँ । मैले निजलाई २०८१ चैत १४ गते निजको निजी सचिव राजेश सिंहमार्फत निजकै निवास महाराजगञ्जमा रहेको निर्मल निवासमा भेट गरेको हुँ ।'

ज्ञानेन्द्र शाहसँग आफ्नो राम्रो चिनजान रहेको पनि प्रसाईंले बयानमा उल्लेख गरेका छन् । 'नेपालका राजा ज्ञानेन्द्र शाहलाई राम्रोसँग चिन्दछु । निजसँग मेरो सम्बन्ध राजा र जनता बीचको सम्बन्ध हो । निजसँग मेरो विगत ५ वर्ष अगाडि देखि पटक-पटक भेट भइरहेको छ । निजसँग भेट गर्दा निजी सचिवमार्फत भेटघाट हुने गरेको थियो,' प्रसाईंले भनेका छन् ।

ज्ञानेन्द्र शाहलाई भेटेपछि नवराज सुवेदीलगायतले प्रसाईंलाई जनकमाण्डर घोषणा गरेका थिए । त्यसको भोलिपल्ट भएको आगजनीमा दुई जनाको मृत्यु भएको थियो । साथै, निजी र सरकारी सम्पत्तिमा तोडफोड, लुटपाट र आजगनी गरिएको थियो ।

कान्तिपुर

Link copied successfully