‘सञ्चार माध्यम र सोसल मिडियामा के टिप्पणी भयो भन्ने कुराले फैसला हुँदैन’
काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै कर्मचारीले गल्ती गर्दैमा मन्त्री भागिदार नहुने बताएका छन् । एमाले सचिवालयमा भिजिट भिसा प्रकरणमा सार्वजनिक रूपमा गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेको सन्दर्भमा ओलीले गल्ती गर्ने कर्मचारीले नै सजाय पाउने बताएको एक सचिवालय सदस्यले बताए ।
राज्यका सम्बन्धित निकायको अनुसन्धानका आधारलाई मुख्य मान्नुपर्ने ओलीले बताएका थिए । ‘कुनै कर्मचारीले गल्ती गर्यो भने त्यसलाई सजाय हुन्छ । मन्त्रालयअन्तर्गतको कुनै कर्मचारीले गलत काममा मन्त्री भागिदार हुनु हुँदैन,’ सचिवालय बैठकमा ओलीको भनाइ थियो, ‘कुनै कर्मचारीले गल्ती गर्यो भने राजीनामा दिंदै हिँड्ने हो भने मन्त्रालय चल्न सक्दैन ।’
ओलीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको/नभएको समबन्धित निकायले अनुसन्धान गर्न सक्ने बताए । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले गृहमन्त्री लेखकमाथि उठेको प्रश्नमा सञ्चार माध्यम र सोसल मिडियामा भएको टिप्पणीले ले फैसला नहुने बताए
‘नेकपा एमाले भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा छ । कुनै पनि विषयमा अनुसन्धान गर्ने निकाय छन् । अनुसन्धान गर्ने निकायले अनुसन्धान गर्छन् । दोषी देखिए कारबाहीमा पर्छन्,’ उनले भने, ‘सञ्चार माध्यम र सोसल मिडियामा के टिप्पणी भयो भन्ने कुराले फैसला हुँदैन । आरोप लगाउने विषयले सबै कुराको निर्धारण गर्दैन । के भएको छ भन्ने सम्बन्धित निकायको ध्यान पुगेको होला ।’
