एमाले-कांग्रेसको सहमतिले मात्रै संविधान संशोधन सम्भव हुँदैन : नेता सिटौला

जेष्ठ ११, २०८२

रासस

Constitution amendment is not possible only with UML-Congress consensus: Leader Sitaula

विराटनगर — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

आज विराटनगरमा पत्रकारहरुसँग कुरा गदैं  नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सहमतिले मात्रै संविधान संशोधन गर्न सम्भव नरहेको भन्दै संविधान संशोधनका निम्ति प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सरकारको पनि सहमति आवश्यक भएको बताए। 

जनतामा नैराश्यता बढ्न नदिन सुशासन, सेवा प्रवाहका साथै देशको विकास– निर्माणलाई केन्द्रमा राखेर राज्य संयन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्नेमा सांसद सिटौलाले जोड दिए। देश र जनतालाई प्राथमिकतामा राखेर राजनीतिक दलहरुले आफूलाई आन्तारिक लोकतन्त्रसहित व्यवस्थित गर्नुपर्ने सुझाव दिँदै उनले लोकतन्त्रमा विपक्षीका आवाज सबैले सुन्नुपर्ने बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बताउन सबै राजनीतिक दलका नेताले जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ छ। संवैधानिक निकायको अनुसन्धानमा रहेको विषयलाई लिएर गृहमन्त्रीले राजीनामा गर्ननपर्ने भन्दै उहाँले नेपाली कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरमा हुनसक्ने बताए।

सांसद सिटौलाले जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषयमा संसद्मा छलफल हुनुपर्ने धारणा व्यक्त गरे। 

रासस

Link copied successfully