विद्यालय सुनसान पारेर यार्चा खोज्न हिँडे विद्यार्थी

यार्चा संकलन गर्ने समयमा साढे चौध हजार विद्यार्थीको पठनपाठन प्रभावित

जेष्ठ १०, २०८२

रामचन्द्र न्यौपाने

Leaving the school deserted, the students went to look for Yarcha

डोल्पा — ठूलीभेरी नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयमा शिक्षकको उपस्थिति नियमित छ । अघिपछि जस्तै १० बजेअघि नै शिक्षक विद्यालय पुग्छन् तर कोही विद्यार्थी आउँदैनन् । विद्यालयको अभिलेखमा भने ७ सय ५० विद्यार्थी छन् । कहाँ जान्छन् त विद्यार्थी ? 

प्रत्येक वर्ष जेठदेखि असारसम्म यार्चागुम्बा संकलन गर्ने समय हो । यति बेला सबैजसो स्थानीय बहुमूल्य जडीबुटी यार्चागुम्बाको खोजीका लागि उच्च हिमाली पाटनतिर हुन्छन् ।

घरमा ताल्चा मारेर बालबालिकासमेत त्यतैतिर गएका हुन्छन् । ‘जेठको सुरुदेखि विद्यार्थीको उपस्थिति घट्न थालेको हो, अहिले त ठप्पै भइसक्यो,’ आदर्श माविका प्रधानाध्यापक बालकृष्ण डाँगीले भने, ‘विद्यार्थी नआउँदा कक्षा चलाउन सकेका छैनौं ।’ उनका अनुसार अहिले विद्यालयमा प्रशासनिक काम मात्र भइरहेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१० लिकुस्थित जनप्रभा माविमा पनि पठनपाठन ठप्पप्रायः छ । विद्यार्थी पाटन हिँडेका छन् । ‘७ सयभन्दा बढी विद्यार्थी भएको हाम्रो विद्यालय प्रत्येक दिन खुलेकै छ । विद्यार्थी भने धेरै आए ३०/३५ जना मात्र हुन्छन्,’ प्रधानाध्यापक तेजबहादुर गिरीले भने । जिल्लामा रहेका १ सय १६ विद्यालयमै यार्चा सिजनको प्रभाव परेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय डोल्पाले जनाएको छ । 

अधिकांश विद्यालय यार्चा सिजनका कारण बन्द छन् भने केहीमा थोरै संख्यामा पढाइ भइरहेको छ । डोल्पाका विद्यालयमा करिब साढे १४ हजार विद्यार्थी छन् । कतिपय शिक्षक पनि यार्चा खोज्न पाटनतिर पुगेका छन् । जिल्ला बाहिर घर भएकाहरू विद्यालय बन्दको मौका छोपेर घरतिर लागेका छन् । 

ठूलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायका अनुसार विद्यालय बन्द नगर्ने नगरपालिकाको निर्णय भए पनि विद्यार्थी नै नआउँदा पठनपाठन हुन सकेको छैन । ‘यार्चागुम्बा सिंगो परिवारको आम्दानीसँग जोडिएको छ । एउटा गरिब विद्यार्थीले यार्चा टिपेरै पढाइसँगै घरखर्चको जोहो गर्छ,’ उनले भने, ‘यतिबेला विद्यार्थीलाई रहरभन्दा पनि बाध्यता धेरै छ ।’ ठूलीभेरी नगरपालिकामा २७ वटा विद्यालय छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्षप्रसाद चौलागाईंका अनुसार यार्चा टिप्ने समयमा पठनपाठन नहुने समस्या पुरानै हो । ‘विभिन्न बहानामा विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन बिग्रने गरेको छ । यसले उनीहरूको शैक्षिक भविष्यमै धक्का लाग्छ,’ उनले भने, ‘यसलाई रोक्ने प्रयास गर्नुपर्छ ।’ यार्चा संकलनको समयमा पठनपाठन नहुने समस्यालाई सम्बोधन गर्न राजनीतिक दललगायत सरोकारवालाले चासो दिनुपर्ने उनको भनाइ छ ।

‘हामीले विद्यालय सञ्चालन गर्न स्थानीय तहमा त भनिरहेका हुन्छौं, तर जनप्रतिनिधि नै यो कमाउने सिजन हो भन्छन् । स्थानीय सरकारले चाहेमा सम्भव हुन सक्छ,’ इकाइ प्रमुख चौलागाईंले भने । 

यार्चा टिप्ने समयमा उपल्लो डोल्पामा बढी प्रभाव पर्ने गरेको छ । विद्यालय नै बन्द गरेर शिक्षकहरू समेत यार्चा टिप्न गाउँबस्तीनजिकै पाटन पुगेका हुन्छन् । एक महिनाको कमाइले वर्षभरिको खर्च धान्नुपर्ने भएकाले यति बेला बालबालिका पनि यार्चा खोजीमा पाटन जाने गरेको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडाका रूपलाल बुढाले बताए ।

‘अभिभावकलाई अहिले पढाइभन्दा कमाइको महत्त्व छ । तर यार्चा टिपेर आम्दानी गर्नु सोचे जत्तिको सजिलो छैन, ज्यान हत्केलामा राखेर खोज्नुपर्छ । कतिपय बालबालिकाको लेक लागेरै मृत्यु हुने गर्छ ।’

बुढाका अनुसार यति बेला १० वर्षको बालकले पनि यार्चा टिपेर १० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको छ । एउटा यार्चा पाँच सयदेखि एक हजार रुपैयाँसम्म बिक्री हुने गर्छ भने प्रतिकिलो १५ लाखदेखि ३० लाखसम्ममा कारोबार हुने गरेको छ ।

यार्चागुम्बा ३ हजार मिटरभन्दा माथिका उच्च हिमाली पाटनमा पाइने गर्छ । वनस्पति र जीवको दुवै गुण पाइने यार्चागुम्बा शक्तिबर्द्धक जडीबुटीका रूपमा चिनिन्छ । डोल्पामा उत्पादित यार्चागुम्बा सबैभन्दा धेरै चीन निर्यात हुने गरेको व्यापारी देवेन्द्रराज न्यौपानेले बताए ।

यार्चा संकलनका कारण अधिकांश विद्यालय बन्द हुँदा त्रिपुरासुन्दरीका केही विद्यालयमा भने नियमित पढाइ भइरहेको छ । पठनपाठन भइरहेको त्रिपुरासुन्दरी–१ स्थित त्रिपुरा माविमा एक सय हाराहारी विद्यार्थी उपस्थित हुने गरेका छन् ।

‘शिक्षकहरू पनि नियमित भएकाले चलिरहेको छ,’ प्रधानाध्यापक तुलबहादुर विष्टले भने, ‘विद्यार्थी आएपछि पठनपाठन सञ्चालन गर्नु हाम्रो दायित्व पनि हो ।’ गत महिनाको शिक्षक आन्दोलनले विद्यार्थीको पढाइमा असर परेको उल्लेख गर्दै उनले यार्चा सिजनमा पनि विद्यालय बन्द गर्दा शैक्षिक क्यालेन्डरमा समस्या आउने भएकाले विद्यालय सञ्चालन गरिरहेको उनले बताए ।

त्रिपुरासुन्दरी–१ कै हिमज्योति आधारभूत विद्यालयमा पनि कक्षा सञ्चालन भइरहेको छ । विद्यार्थी नियमित विद्यालय आउने गरेकाले पढाइ भइरहेको प्रधानाध्यापक मनबहादुर सार्कीले बताए । वडा ९ मा रहेको जनप्रिय आधारभूत विद्यालयमा पनि पढाइ नरोकिएको प्रधानाध्यापक देव बुढाले जानकारी दिए ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully