८ मातृभाषामा पनि पत्रकार आचारसंहिता

प्रेस काउन्सिल नेपालले मैथिली, थारू, भोजपुरी, राई वान्तावा, तामाङ, डोटेली, लिम्बू र नेपाल भाषामा आचारसंहिता अनुवाद गरी लागू गरेको हो

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

8 Journalist code of conduct in mother tongue also

काठमाडौँ — पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन प्रेस काउन्सिल नेपालले विभिन्न ८ भाषामा पत्रकार आचारसंहिता तयार पारी लागू गरेको छ । शुक्रबार ५ मातृभाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरियो भने ३ मातृभाषाका आचारसंहिता यसअघि नै कार्यान्वयनमा आइसकेका छन् । 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रुपमा नयाँ मातृभाषाका अनुवाद प्रति सार्वजनिक गरेका हुन् । 

नेपाली र अंग्रेजीबाहेक विभिन्न भाषाभाषीबाट आचारसंहितालाई बृहत् बनाई देशभर लागू गर्ने र अहिलेको सामाजिक सञ्जालसमेतलाई आकर्षित हुने गरी यो अभियान चालिएको काउन्सिलका अध्यक्ष बस्नेतले बताए । सुरुमा मैथिली, थारू र नेपाल भाषामा आचारसंहिता अनुवाद गरी लागू गरिएको थियो । अहिले भोजपुरी, राई वान्तावा, तामाङ, डोटेली, लिम्बू भाषा गरी ५ भाषा थपिएको छ । अध्यक्ष बस्नेतले यी आचारसंहिताको सम्बन्धित समुदायमा पुगेर कार्यान्वयन गराउने दृढता व्यक्त गरेका छन् ।

भाषा आयोगका अध्यक्ष ठाकुरले पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी भएको उल्लेख गरे । लेख्यरूप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । 'मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने काउन्सिलको कार्य साहसिक हो,' उनले भने । 

काउन्सिल अध्यक्ष बस्नेतले देशका विभिन्न भूभागमा बोलिने मातृभाषाको प्रवर्द्धनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने बताए । सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनमा काउन्सिलले काम गरेको प्रस्ट पारे । 'मातृभाषाका सञ्चारमाध्यम नेपाली पत्रकारिताका सुन्दरता र राज्यको वैभव हुन् । त्यसैले यसलाई प्रवर्द्धन गर्न काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको छ,' अध्यक्ष बस्नेतले भने ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष झाले देशका धेरै भूभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको धारणा राखे । आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प नभएको भन्दै उनले मातृभाषा र स्थानीयपनलाई बेवास्ता गरिए देशको लोकतन्त्र नै नबाँच्ने बताए ।

कार्यक्रममा लेखक एवं पत्रकार डा. कृष्णराज सर्वहारी, नृपेन्द्रलाल श्रेष्ठ, पुष्कर माथेमा, पदम राई, अमर तुम्वाहाङ, विष्णुमाया सिङगक, गणेश राई, अर्जुन तामाङ, बुनु थारू, मनोज बर्मा, वीणा सिन्हा, धनबहादुर मगर लगायतले भाषागत पत्रकारिताको अवस्था र अनुभव सुनाएका थिए ।

कान्तिपुर

Link copied successfully