काठमाडौँ — तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन, कर्णालीका ७९ वटै स्थानीय तहका कर्मचारी आन्दोलनमा, सवारी चालक अनुमतिपत्र असार मसान्तदेखि सुरक्षा मुद्रण केन्द्रले छाप्नेदेखि अमेरिकी सरकारद्वारा विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार खारेजसम्मका खबर आज चर्चामा रहे ।
०००
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बिहीबार १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन दर्ता गरिएको हो । प्रहरीले यसका लागि ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
०००
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फालेको राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको दोर्याएका छन् । पोखरामा शुक्रबारदेखि सुरू भएको राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्षसमेत रहेका ओलीले राजावादीले राजा फर्काउने मिति फेरि सार्ने भन्दै कटाक्ष गरे । उनले घरमै सिंहासन बनाएर राख्न भन्दै व्यंग्यसमेत गरे ।
०००
स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालको आह्वानमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका कर्मचारी अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । बिहीबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश सभाअगाडि बसेर उनीहरूले आन्दोलन गरेका छन् । प्रदेश सरकारले स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ मा संशोधन नगरेको र आफूहरूमाथि विभेदपूर्ण नीति अपनाएको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीको भनाइ छ ।
०००
सवारी चालक अनुमतिपत्र आगामी असार मसान्तदेखि सुरक्षा मुद्रण केन्द्रले छाप्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग र सुरक्षा मुद्रण केन्द्रबीच शुक्रबार भएको सम्झौताअनुसार असार मसान्तदेखि केन्द्रले सवारी चालक अनुमतिपत्र छाप्ने भएको हो ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिहीबार हार्वर्डको विदेशी नागरिक (विद्यार्थी सङ्ख्याको एक चौथाइभन्दा बढी) भर्ना गर्ने अधिकार रद्द गरेको छ । यसले प्रतिष्ठित विश्वविद्यालयविरुद्ध राष्ट्रपतिको लडाइँलाई अझ तीव्र बनाएको छ ।
