तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

आपराधिक उपद्रव, संगठित अपराध, राज्यविरुद्धको कसुर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योग लगायतमा मुद्दा प्रस्ताव

जेष्ठ ९, २०८२

विवेक पोख्रेल

The police submitted a report with the opinion that a case should be filed against 108 in the Tinkune incident

काठमाडौँ — गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार बिहीबार १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलसमक्ष प्रतिवेदन दर्ता गरिएको हो । प्रहरीले यसका लागि ९० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौलाले प्रहरी प्रतिवेदनलाई अनुसन्धान र विश्लेषण गरेर आइतबारसम्म अभियोगपत्र दायर गर्ने बताए । ‘४ जना बालबालिकासहित १०८ विरुद्ध पाँच कसुरमा मुद्दा प्रस्ताव गरिएको छ,’ निरौलाले भने, ‘हामी अनुसन्धान गर्दै छौं । आइतबार अभियोगपत्र दायर हुन्छ । ’

प्रहरीले आपराधिक उपद्रव, संगठित अपराध, राज्यविरुद्धको कसुर, कर्तव्य ज्यानमुद्दा, ज्यान मार्ने उद्योग लगायतमा मुद्दा प्रस्ताव गरेको छ । 'प्रहरीले बुझाएको प्रतिवेदन हेरफेर हुन सक्छ, आइतबारसम्म अभियोगपत्रमा उल्लेख गरेर हामी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्छौं,' निरौलाले बताए ।

प्रहरी प्रवक्ता बोहराका अनुसार प्रहरीले यस घटनामा आपराधिक उपद्रव र संगठित अपराधमा ६१ जना र राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान गरिरहेको थियो । त्यसमध्ये आपराधिक उपद्रव, संगठित अपराधमा अनुसन्धानमा रहेका ३४ र राज्यविरुद्धको कसुरमा रहेका ३ जना हाजिरी जमानीमा छुटेका छन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिरी जमानीमा राखिएको छ । यस्तै, प्रदर्शनमा कमान्डरका रूपमा रहेका दुर्गा प्रसाईं भने हिरासतमै छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully