परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

Meeting between Foreign Minister Rana and JICA Chairman

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष तानाका अकिहिकोसँग शुक्रबार भेटवार्ता गरेकी छन्। टोकियोस्थित जाइकाको मुख्यालयमा भएको सो भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

 भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए।

मन्त्री राणाले जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत् आर्थिक बृद्धि र गरिबी निवारण, विपद जोखिम न्यूनिकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरे।

मन्त्री राणाले सो अवसरमा पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुननिर्माण एवं मर्मत सम्भार लगायत नेपालका कैयौँ क्षेत्रहरुमा जाइका मार्फत् जापन सरकारले पुर्याउँदै आएको सहयोगको सराहना गरे।

भेटमा उनीहरुबीच नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकहरुसम्बन्धी विषयमा पनि  कुराकानी भएको थियो ।

कान्तिपुर

Link copied successfully