कास्की — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारबाट बाहिरिनुपर्दा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले एमालेमाथि कुण्ठा पोखिरहेको जिकिर गरेका छन् । शुक्रबार पोखरामा राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेमाथि प्रहार गर्नेमा माओवादी पहिलो, रास्वपा दोस्रो र राजावादी तेस्रो भएको बताएका छन् ।
महासचिव पोखरेलका अनुसार १० महिनाअघिसम्म माओवादीका लागि एमाले अपरिहार्य र सबैथोक भए पनि अहिले कुनै कारणबिना गाली गर्न थालिएको छ । 'त्यतिबेला माओवादीका लागि एमाले अपरिहार्य थियो । एमालेको नेतृत्व सबैथोक थियो । बालुवाटार माओवादी नेता–कार्यकर्ताको नियमित गन्तव्य बनेको थियो,' उनले भने । एमाले सरकारमा रहँदा कुनै गलत काम नगरेको अवस्थामा पनि माओवादी नेता–कार्यकर्ताले गाली गरेको उनले बताए ।
सभापति रवि लामिछाने हिरासतमा परेपछि रास्वपा नेता–कार्यकर्ता पनि एमालेमाथि खनिएको पोखरेलको भनाइ थियो । 'सभापति हिरासतमा परेको कुण्ठा र पीडामा रास्वपाका नेता र कार्यकर्ता नेकपा एमाले र यसको नेतृत्वविरुद्ध खनिएका छन्,' उनले भने, 'यसबाट बुझ्न सकिन्छ कि नेकपा एमालेले कमजोरी गरेका कारण होइन, आफ्नो भविष्य संकटमा परेकाले खनिएका हुन् ।'
१५ महिनाअघिसम्म रास्वपाका नेता–कार्यकर्ताले एमालेसँग सहकार्य गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्ने गरेको पोखरेलले स्मरण गराए । '१५ महिनाअघिको सम्झना गर्नुस् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको उठबस बालकोटमा हुने गर्दथ्यो । हामी केही नयाँ काम गर्न चाहन्छौं भनेर अनुरोध गर्न पुग्दथे,' उनले भने, 'त्यतिबेला हाम्रो पार्टी नेकपा एमाले उनीहरूका लागि प्रिय थियो, सहकार्यका लागि योग्य थियो ।'
राजावादीले कुनै समय नेकपा एमालेसँग सहकार्य गर्न अनुनय–विनय गरेकोमा अहिले गाली गर्न थालेको उनले बताए । सरकारबाट बाहिरिएपछि राजावादीले एमालेलाई निशाना बनाएको उनले दाबी गरे । एमालेलाई कमजोर बनाउन खोज्ने शक्तिबाट प्रभावित हुन आवश्यक नरहेको उनले नेता–कार्यकर्तालाई बताए ।
