आवेदन दिने मिति सकिएको तीन साता पुग्दा पनि बढुवा सिफारिस समितिको बैठक बसेन
काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि सिफारिस गर्न आवेदन खुलाएको महिना दिन पुग्न लाग्दा पनि अझै बढुवा समिति अनिर्णीत बनेको छ ।
एआईजी चन्द्रप्रकाश (सीपी) गौतमले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि एआईजीका लागि बढुवा सिफारिस समितिले १४ वैशाख २०८२ मा प्रतिस्पर्धाका लागि आवेदन खुलाएको थियो । एक साताको म्याद दिएर खुलाइएको आवेदन दिने मिति २१ वैशाखसम्म थियो । तर, त्यसपछिको तीन साता पुग्दा पनि बढुवा सिफारिस समितिको बैठक बसेको छैन ।
रिक्त एआईजीका लागि विभिन्न मितिमा सेवा प्रवेश गरेका १० जना नायव महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा छन् । एआईजी प्रतिस्पर्धाका लागि २०५६ मा नेपाल प्रहरीमा निरीक्षकबाट सेवा प्रवेश गरेर पछि सशस्त्रमा स्थानान्तरण भएका क्रमशः कमल गिरी, गणेश ठाडामगर, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङ छन् । उनीहरु ३ पुस २०७७ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।
त्यस्तै २०५२ मा नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सइ) बाट सेवा प्रवेश गरी पछि सशस्त्रमा स्थानान्तरण भएका कुमार न्यौपाने र कालीदास धौबजी पनि प्रतिस्पर्धामा छन् । दुवै २२ असार २०७८ मा डीआईजी भएका थिए । यसैगरी २०५४ मा प्रहरीबाटै प्राविधिक सइका रुपमा सेवा प्रवेश गरेका लक्ष्मण सिंह र प्रदीपकुमार पाल पनि एआईजी प्रतिस्पर्धामा छन् । सिंह र पाल २२ चैत २०७८ मा डीआईजी भएका थिए ।
यसैगरी सशस्त्र प्रहरीको पहिलो ब्याचका सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेल पनि एआईजी प्रतिस्पर्धामा छन् । २०५९ मा सशस्त्र प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ र पोखरेल ४ फागुन २०७९ मा डीआईजीमा बढुवा भएका थिए । दसैजना प्रतिस्पर्धीले एआईजीका लागि फाराम भरेका छन् ।
तर, सिफारिस समिति बैठक नबस्दा एआईजीको टुंगो लाग्न नसकेको हो । गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक सम्मिलित दुई सदस्यीय बढुवा समितिले एआईजी सिफारिस गर्ने सशस्त्र प्रहरी नियमावलीमा उल्लेख छ । तर, सिफारिस समिति नै नबस्दा बढुवामा बाहिरी चलखेल र शक्तिकेन्द्र धाउने क्रम बढेको हो ।
बढुवा सिफारिस समितिले नाम टुंगो लगाएपछि मनित्रपरिषद्बाट एआईजी बढुवा हुने व्यवस्था छ । नेपाल प्रहरीमा भने रिक्त ११ डीआईजी र एक एआईजीमा केही दिनअघि नै सिफारिस भइसकेको छ ।
