बेतबाँस सञ्जाल इनबारको सम्मेलनमा नेपालको अध्यक्षता

जेष्ठ ८, २०८२

लक्ष्मी लम्साल

Nepal's chairmanship at the conference of Beitbas Network Inbar

बेइजिङ — अन्तर्राष्ट्रिय बेतबाँस सञ्जाल (इनबार) को बैठक बेइजिङस्थित मुख्यालमा बिहीबार आयोजित भयो । इन्टरनेसनल नेटवर्क फर ब्याम्बो एन्ड र्‍याटन, इनबार काउन्सिलको १३औँ सत्रको अध्यक्षता गर्न वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी मंगलबार बेइजिङ उत्रिएका थिए ।

अध्यक्ष मुलुकको हैसियतमा नेपालले विभिन्न सत्र सञ्चालन गरेको थियो । बैठकका दौरान मन्त्री ठकुरीले नेपाललाई विश्वास गरेर अध्यक्षताको जिम्मेवारी दिएकोमा धन्यवाद ज्ञापन गरे भने उरुग्वे र डोमिनिक गणतन्त्रलाई इन्बारको सदस्यका रूपमा स्वागत गरे ।

मन्त्री ठकुरीले जलवायु परिवर्तनको असर, जैविक विविधता संरक्षण, दिगो जीविकोपार्जन तथा हरित अर्थतन्त्रको विकासका लागि बेतबाँसले रूपान्तरणकारी  सम्भावना बोकेको भन्दै यसपटकको बैठकमा यस विषयमा गहन छलफल गरिएको बताए । इनबारका सदस्य राष्ट्रबीच ज्ञान र विशेषज्ञता बाँडफाँटले विश्वव्यापी दिगो विकासका प्रयासहरू सुनिश्चित गर्न सहयोग पुग्ने मन्त्री ठकुरीको ठहर थियो । उनले प्राकृतिक विपत्ति न्यूनीकरणमा बाँसको भूमिका महत्त्वपूर्ण रहेको पनि चर्चा गरे।

Nepal's chairmanship at the conference of Beitbas Network Inbarचीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले नेपालमा पाइने विभिन्न प्रजातिका बाँस र बेतको महत्वमाथि प्रकाश पार्दै जलजमीन संरक्षण र जीविकोपार्जनमा बाँसको भूमिका महत्त्वपूर्ण बताए । उनले भने, ‘राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रलाई उकास्नुका साथै रोजगारी, वातावरण संरक्षण, कार्बन सिक्वेस्टेसन, पारिस्थितिक पुन:स्थापनामा बाँस उद्योगको महत्त्व रहेको छ ।’ उनले नेपाल सरकारले हालै अपनाएको राष्ट्रिय बाँस तथा बेत विकास रणनीति २०२५ बारे चर्चा गरे र प्रभावकारी कार्यान्वयनको पक्षमा रहेको सुनाए ।

यसअघि सन् २०२३ मा बेइजिङमा भएको इनबारको १२औँ परिषद्को १३औँ अधिवेशनले सन् २०२३ देखि २०२५ सम्मका लागि नेपाललाई सर्वसम्मतिले अध्यक्षमा छनोट गरेको थियो । त्यसअघि नेपाल संगठनको उपाध्यक्ष रहेको थियो ।

Nepal's chairmanship at the conference of Beitbas Network Inbarनेपालले बाँसको प्रयोगलाई प्रवर्द्धन गर्न र प्लास्टिकलाई बाँसद्वारा प्रतिस्थापन गर्ने प्रयासमा बाँसको भूमिकालाई लिएको जनाएको छ । नेपालमा इनबारको सहयोगमा विपत्ति प्रतिरोधी आवास, बाँस तथा बेतको बजार विकास लगायतका परियोजनाहरू सञ्चालित छन्। पछिल्लो समय इनबारले प्लास्टिकलाई बाँसले विस्थापित गर्ने रणनीति अघि सारेको छ । हाल इनबार सदस्य राष्ट्रहरूको संख्या ५२ छ भने सदस्य देशहरू अफ्रिका, एसिया, अमेरिका र ओशिनियाबाट छन्, जसमा चीन, क्यानडा, बंगलादेश र इन्डोनेसिया जस्ता संस्थापक देशहरू पनि समावेश छन् ।

बाँस र बेत स्रोत विकास तथा सहयोग समन्वय गर्न इन्बारका पाँच क्षेत्रीय कार्यालयहरू क्यामरून, इक्वेडर, इथियोपिया, घाना र नयाँदिल्ली भारतमा सञ्चालित छन् । सन् १९९७ मा स्थापना हुँदा यो विभिन्न ९ देशले यसको अग्रसरता लिएका थिए ।

लक्ष्मी लम्साल

Link copied successfully