काठमाडौँ — तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी उदयपुरकी रेबिका खत्रीलाई न्याय, यथोचित उपचार र खर्चको माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थी पुन: आन्दोलित भएका छन् ।
बिहीबार जडीबुटीमा विद्यार्थीले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रदर्शनका क्रममा शिक्षक र विद्यार्थीले सडकमै पठनपाठन गरेका थिए ।
सरकारले सबै उपचार खर्च बेहोर्ने बताएको थियो । तर खत्रीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र सरकारले पनि बेवास्ता गरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।
क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीले सरकारसँग पटकपटक गुहार माग्दासमेत बेवास्ता गरेको हुँदा आफूहरु सडकमा आउन बाध्य भएको बताए । ‘रेबिकाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ तर सरकारको प्रतिबद्धता केवल कागजमै सीमित रह्यो,' उनले भने, 'रेबिकाका परिवारले अहिलेसम्म ७ लाख रुपैयाँ उपचारमा खर्च गरिसकेका छन् ।’
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा रेबिकालाई गोली लागको थियो । सिभिल अस्पतालको सघन उपचार कक्षमा लामो समय राखेर वार्डको क्याबिनमा सारिएकी २२ वर्षीया रेबिकालाई प्लास्टिक सर्जरी गर्न भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा लगिएको थियो । उनको हाल त्यहीँ उपचार जारी छ ।
- प्रशिक्षार्थी
