परराष्ट्रमन्त्री राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

Bilateral meeting between Foreign Minister Rana and Japanese Foreign Minister

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।

ज्येष्ठ नागरिकको सामाजिक एकान्ततासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गत शनिबार जापान प्रस्थान गरेकी परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री ताकेसीसँग बिहीबार भेटवार्ता गरेकी हुन् । 

भेटका अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री राणाले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी  मन्त्री राणाले त्यस नेपाल सन २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा  स्तरोन्नति हुनलागेका जानकारी दिँदै निरन्तर रूपमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापानबाट त्यसपछिको अवस्थामा पनि नेपाललाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् । 

दुई मन्त्रीबीच नेपाल–जापान सम्बन्धको ७० वर्षेको इतिहासका विविध पक्षमा पनि कुराकानी भएको परराष्ट्रले जनाएको छ । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको एसियाली मुलुक नेपाल र जापानले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदै छन् । सोही अवसरमा मन्त्री राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी हुन् । 

नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीलाई प्रोत्साहित गरिदिन विदेशमन्त्री ताकेसीसँग आग्रह गर्दै लगानी प्रतिफलका हिसावले अत्यन्त सम्भावना रहेको नेपालमा वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चिता प्रदान गर्न सरकारको तर्फबाट आवश्यक व्यवस्था गरिएको मन्त्री राणाले जानकारी दिइन् । 

कान्तिपुर

Link copied successfully