मन्दिरलाई दान दिएको जग्गा लेखापढी व्यवसायीले आफ्नै पत्नीको नाममा पास गराएपछ ६५ वर्षीया खटरीदेवी यादवनी दुई महिनादेखि न्यायको लागि भौँतारिँदै आएकी छन् ।
राजविराज — प्रहरीमा दिएको जाहेरी र जग्गा पास भएको लिखतको प्रतिलिपि बोकेर बुधबार राजविराजमा भौतारिँदै थिइन् सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगरकी ६५ वर्षीया खटरीदेवी यादवनी । मन्दिरलाई दान दिएको जग्गा लेखापढी व्यवसायीले आफ्नै पत्नीको नाममा पास गराएपछि उनी दुई महिनादेखि न्यायको लागि भौँतारिँदै आएकी छन् । तर, खटरीदेवीले आश्वासनबाहेक कत्तैबाट केही सहयोग पाएकी छैनन् ।
खटरीदेवीका पति झौली यादवले जीवनको अन्तिम समयमा जनाएका इच्छाअनुसार उनले साविक रामनगर गाविस–५ (क) को कित्ता नम्वर ८६ को ५ कठ्ठा १४ धुर र २४९ को २ कठ्ठा गरी कूल ७ कठ्ठा १४ धुर जग्गा मन्दिरलाई दान गर्ने निर्णय लिएकी थिइन् । पति बित्नुअघि नै सो जग्गा कल्यानेश्वर महादेव मन्दिरको नाममा पास गराइदिनमा सहयोग गरिदिन खटरीदेवीले लेखापढी व्यवसायीसमेत रहेका छिमेकी गजेन्द्रप्रसाद यादवलाई आग्रह गरेकी थिइन् ।
गजेन्द्रप्रसादले एकैदिनमा जग्गा पास गराइदिने भनेपछि खटरीदेवी पनि उनीसँगै २०८१ भदौ २ मा भूमि सुधार तथा मालपोत कार्यालय राजविराज आएकी थिइन् । सोही दिन जग्गाको काम सकाएर घर फर्केकी खटरीदेवीले पतिको रेखदेख गर्दै दिनहरू बिताउन थालिन् । तर, ०८१ फागुनको अन्तिम सातातिर दान गरेको जग्गा अर्कैको नाममा पास भएको भन्दै गाउँमा गाइँगुइँ सुनिन थाल्यो । शंका लागेर खटरीदेवीले फागुन २८ मा मालपोतबाट लिखत झिक्दा लेखापढी व्यवसायी गजेन्द्रप्रसादले आफ्नै पत्नीको नाममा सो जग्गा पास गराएको विषय खुल्न आएको हो ।
जग्गा पास भएको लिखतको प्रतिलिपि । तस्बिरः विद्यानन्द राम/कान्तिपुर
लिखतअनुसार गजेन्द्रप्रसादकी पत्नी ३० वर्षीया मञ्जुकुमारी यादवको नाममा सो जग्गा पास भएको छ भने मञ्जुकुमारीले ४ लाख ४७ हजार रुपैयाँ थैली (कारोबार) रकम राखेकी छन् । तर, खटरीदेवीले एक रुपैयाँ पनि नलिएको सुनाइन् । ‘भगवानको नाममा पनि यतिसम्मको बेइमानी गर्छन् भने कल्पना गरेकै थिइनँ,’ खटरीदेवीले भनिन्, ‘लेख्न–पढ्न जान्दिनँ, त्यसैले यिनीहरूले झुक्याएर आफ्नै नाममा जग्गा पास गराइहाल्यो ।’
दुई महिनादेखि न्यायको लागि दौडधूप गरिरहँदा पनि कतैबाट कुनै सुनुवाइ नभएको भन्दै खटरीदेवीले दुखेसो गरिन् । ‘मन्दिरलाई जग्गादान गर्ने श्रीमान्को अन्तिम इच्छा थियो, जग्गादान गरेको डेढ महिना नबित्दै उहाँ बित्नुभयो’ उनले भनिन्, ‘हाम्रो बालबच्चा पनि छैन, मलाई जग्गा चाहिएन पनि तर मन्दिरको नाममा गराउनमा सहयोग गरिदिनू ।’
लेखापढी व्यवसायी गजेन्द्रप्रसादले सो जग्गा आफूले पैसा दिएर किनेको बताए । ‘गाउँमा रकम लेनदेन भएर जग्गा पास गराएको छु,’ उनले भने । तर, २१ लाख रुपैयाँ दिएको दाबी गरेका गजेन्द्रप्रसादसँग एक रुपैयाँको पनि ‘बैंक स्टेटमेन्ट’ छैन भने लिखतमा नाम उल्लेख गरेका साक्षीहरूको हस्ताक्षर पनि छैन ।
भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका प्रमुख लक्ष्मीप्रसाद खरेलले त्यस बेला गर्नेलाई बढी जानकारी हुने प्रतिक्रिया दिए । ‘साक्षीको हस्ताक्षर हुनुपर्ने हो, छैन भने गर्नेलाई नै बढी जानकारी होला,’ उनले भने, ‘विधि प्रक्रियाअनुसार नभएको खण्डमा अदालतबाट बदर हुन्छ ।’
गाउँपालिकाका उपाध्यक्षसमेत रहेकी न्यायिक समितिकी संयोजक रेणु यादवले ती जग्गाको विषयमा समितिमा उजुरी आएको बताइन् । ‘हाम्रोमा उजुरी आएको भन्ने सुनेकी छु तर पेसी भएको छैन,’ उनले भनिन्, ‘तर, म त्यो विषयलाई गम्भीरतापूर्वक लिएकी छु, छिट्टै सुनुवाइ हुन्छ ।’
सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भने जाहेरी आएपछि अनुसन्धान भइरहेको बताएका छन् । ‘हामीले ३/४ दिनअघि नै मालपोतलाई पत्र काटेर लिखतको प्रतिलिपि मागेका छौं, त्यसमा साक्षी बसेकाहरूसँग सोधपुछ गर्दा अरु खुल्न आउँछ नै,’ उनले भने, ‘त्यहीअनुसार कानुनी प्रक्रिया अघि बढाउँछौं ।’
