लेखा समिति सभापतिलाई सांसदले सोधे : भैरहवा विमानस्थलसम्बन्धी उपसमितिमा माओवादी किन छैन ?

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

The parliamentarian asked the Chairman of the Audit Committee: Why is there no Maoist in the sub-committee on Bhairawa Airport?

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिमा प्रमुख प्रतिपक्षी माओवादीबाट सदस्य नराखिएकोप्रति सांसदले आपत्ति जनाएका छन् ।

माओवादी सांसद लेखनाथ दाहालले उक्त उपसमितिमा आफ्नो पार्टीबाट सांसदलाई सदस्य किन नराखिएको भन्दै समिति सभापति ऋषिकेश पोखरेललाई प्रश्न गरेका हुन् ।

सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसद दाहालले भैरहवा विमानस्थल सम्बन्धी उपसमितिमा माओवादीबाट सदस्य नराखिएकोप्रति आपत्ति जनाएका हुन् । 'भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन उपसमितिमा माओवादीबाट उपस्थित नगराइ उपसमिति गठन गरिएको छ । भैरहवामा हाम्रो पार्टीको सदस्यलाई सहभागी नबनाइएकोमा आपत्ति व्यक्त गर्दछु,' उनले भने । 

उक्त उपसमितिमा कांग्रेस सांसद मञ्जु खाँणलाई संयोजक बनाइएको छ । उपसमितिको यसअघि संयोजक रहेका एमालेका योगेश भट्टराईले आफू नबस्ने स्पष्ट पारेका छन् । समिति सदस्यमा पनि नबस्ने उनको भनाइ छ । 

समितिका बाँकी सदस्यमा एमालेका अच्युत मैनाली र सराज अहमद फारूकी बाँकी छन् । कांग्रेसका श्यामकुमार घिमिरे र रास्वपाका मनिष झा छन् । राप्रपाका विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सदस्य छन् ।

लेखा समिति सभापति प्रमुख प्रतिपक्षलाई दिनुपर्ने संसदीय अभ्यास पनि दाहालले सभापति पोखरेललाई पुनः स्मरण गराएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully