हुम्लाको तिलगाउँमा एक हप्तापछि पुग्यो राहत

जेष्ठ ७, २०८२

तृप्ति शाही

Relief reached Tilgaon in Humla after a week

वीरेन्द्रनगर — हुम्लाको नाम्खा गाउँपालिका-६ को तिलगाउँमा एक हप्तापछि बुधबार बल्ल राहत पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा गाउँपालिका र विभिन्न संघ संस्थाको सहयोगमा दाल, चामल, तेल, चिउरा, भुजालगायत खाद्यान्न सामग्री पुगेको वडाध्यक्ष पाल्जोर लामाले जानकारी दिए ।

उनका अनुसार नाम्खा गाउँपालिका केन्द्र याल्वाङबाट गाडीमार्फत उक्त सामग्री हल्जीसम्म लगिएको थियो । हल्जी गाउँबाट बोकेर आधा स्थानमा लगिएको थियो । त्यसपछि घोडाहरूले बोकेर उक्त सामग्री पुर्‍याएको उनले बताए । राहत वितरण गर्न लागिएको उनले बताए । उनका अनुसार तत्काललाई केही दिनका लागि पुग्ने राहत गाउँमा पुगेको छ ।

जेठ १ गते राति साढे १० बजेतिर दुई वटा ताल फुटेर हिमपहिरो जाँदा तिलगाउँबासी विस्थापित बनेका छन् । वडाध्यक्ष लामाका अनुसार २१ जनाको परिवार ३३ जना त्रिपालमा बसिरहेका छन् । हिमपहिरोका कारण मानवीय क्षति नभए पनि भौतिक क्षति भने ठूलो भएको छ

। विस्थापित भएकाहरूको घरनजिकै पहिरो पुगिसकेकाले उनीहरू घर फर्किने अवस्था नभएको वडाध्यक्ष लामाले बताए । उनका अनुसार तिलखोला लघुजलविद्युत् आयोजनादेखि खेत, कुलो, खानेपानी, धर्मशालामा ठूलो क्षति पुगेको छ । बस्ती अँध्यारो भएको छ । उनले भने,‘ पानी पनि स्थानीयले खोलाको खाइरहेका छन् । असुरक्षित बसाइ, पानीले गर्दा स्थानीय बिरामी हुन्छन् कि भन्ने चिन्ता थपिएको छ ।’

प्रदेश र केन्द्र सरकारलाई खबर गरे पनि अहिलेसम्म केही सहयोग प्राप्त नभएको वडाध्यक्ष लामाले बताए । पालिकाका अध्यक्षसहितको टोली भने राहत लिएर गाउँमा पुगेका उनले बताए । विस्थापित परिवारमा वृद्धवृद्धा मात्र भएकोले बिरामी पर्ने जोखिम धेरै भएको स्थानीय ६ का कोन्जोक मुटुप लामाले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully