राजेन्द्र लिङ्देनको प्रतिवेदनले पोखरा एयरपोर्ट बन्द गरौं भन्छ : भट्टराई

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Rajendra Lingden's report says to close Pokhara airport: Bhattarai

काठमाडौँ — एमाले सांसद तथा पूर्वनागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलको अध्ययन गर्न गठित गरेको राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिको प्रतिवेदनले विमानस्थल बन्द गर्न भनेको बताएका छन् । 

लेखा समितिको बुधबारको बैठकमा सांसद भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बदनाम गरिएको पनि बताए । उनले लिङ्देनलाई भने, 'तपाईंको प्रतिवेदनको यो भाषाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्ट बन्द गर्ने भन्छ ।'

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न योग्य बनाएर मात्रै चलाउने भनेर लेखेको कुराले हाल उक्त विमानस्थल बन्द गर्ने भनेको भट्टराईले बताए । पोखरा अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रय विमानस्थललाई आरोपित गर्ने कार्य भएको पनि उनको भनाइ छ ।

उपसमितिले विमानस्थल सञ्चालन कसरी गर्ने भन्ने विषयमा सुझाव दिनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । 'राष्ट्रिय गौरवको परियोजनालाई बदनाम गरिरहेका छौं । अन्तर्राष्ट्रिय मिडियाले कभर गरिरहेको छ । यहि त खोजिरहेको थियो । पोखरा, भैरहवा विमानस्थलमा यस्तै किचलो होस् भन्ने कतिपयले खोजिरहेको थियो,' उनले भने ।

यी विमानस्थल निर्माणमा एमालेका कोही व्यक्ति संलग्न भए कारबाहीको दायरामा आउने र आफू पनि त्यसमा तयार रहेको भट्टराईले बताए । 'मेरो पार्टीको कोही संलग्न छौं/छन् भने कारबाहीको दायरमा आउछन् । म पर्यटन मन्त्री हो, बोलायो भने अख्तियामार बयान दिन जाने हो,' उनले भने । 

कान्तिपुर

Link copied successfully