माओवादी लक्षित एमाले सांसदको कटाक्ष : एक जना कर्मचारी हटाउँदा तीन दिनसम्म 'रुने' बानी छ

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Maoist targeted UML MP's sarcasm: When an employee is removed, he has a habit of 'crying' for three days

काठमाडौँ — नेकपा (एमाले) सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म 'रुने' गरेको टिप्पणी गरेका छन् ।

पूर्वाधार विकास समितिको बुधबारको बैठकमा बोल्दै सांसद शाहीले कर्मचारीलाई आफ्नो रोल मोडल बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गरेका हुन् । उनले अमेरिकाले थुप्रै कर्मचारी र कार्यक्रमहरू हटाउँदा पनि कहीँ विरोध नहुने तर नेपालमा भने रोइकराइ हुने अवस्था बन्नु दुखद भएको बताए ।

उनले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरूले नै कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको उल्लेख गरे । साथै, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको उनको भनाइ थियो ।

उनले भने, ‘केही कुरा के छ भने हल्लाको पछि लागेका छौँ । अमेरिकाले धेरै कर्मचारी हटायो, धेरै कार्यक्रम खारेज गर्‍यो, त्यहाँ रोइ कराइ छैन । एक कर्मचारी हटाउँदा तिनै साथी राष्ट्रपति प्रणालीमा जाऔँ भन्छन् । यो प्रणाली खराब भयो भन्छन् । राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्पभन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । तिनै साथीहरू एउटा कर्मचारी हटाउँदा रोइ कराइ गर्छन् । कुलमान घिसिङको व्यवस्थापकीय क्षमता राम्रो हो । उहाँले आयव्यय देखाउँदा तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनु भएको थियो । अहिलेका कार्यकारीले तिर्नुपर्ने दायित्व देखाएर घाटा देखाउनु भएको छ । सबैले पढेका छौँ । हिजो मार्क्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरू घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठूलो बनाएर बसेका छौँ । कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ ।’

एमालेकै सांसद प्रेमबहादुर महर्जनले कुलमान घिसिङ बिदाइ हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत् प्राधिकरण अर्बौँ रुपैयाँ घाटामा गएको भन्ने कुराको स्पष्ट जवाफ माग गरेका छन् । उनले लोडसेडिङको विषयमा पनि जनतालाई स्पष्ट जानकारी दिनुपर्ने बताए ।

उनले भने, ‘कुलमान घिसिङ बिदाइ हुँदै गर्दा र हितेन्द्र शाक्य आइसकेपछि विद्युत् प्राधिकरण अर्बौँ रुपैयाँ घाटामा गएको भन्ने कुरा छ । यसबारेमा स्पष्ट पारिदिनुहोस् । लोडसेडिङको विषयमा पनि जनतालाई स्पष्ट पार्नुपर्छ ।’

जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले समितिको बैठकमा बोल्दै साझा समस्या सोचेर मुलुकका लागि काम गरे सफलता हात लाग्ने बताइन् । उनले राम्रो व्यक्ति छान्नेभन्दा भागबन्डाका लागि काम भइरहेको भन्दै आपत्ति जनाइन् । उनले बेथितिलाई थितिमा परिणत गरेर काम गर्नुपर्ने र सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने अवस्था बनाइदिन आग्रह गरिन् ।

उनले भनिन्, ‘हामीले मुलुकका लागि काम गरौँ, साझा भएर गरौँ । राम्रो व्यक्ति छान्नेभन्दा भागबन्डाका लागि काम भइरहेको छ । बेथितिलाई थितिमा परिणत गरौँ । राज्य नै हाम्रो अभिभावक हो । हामी नीति बनाउन आएका छौँ । साझा मुद्दा बनाएर काम गरौँ । सरकारले राम्रो काम गरेको छ भनेर जनताको बीचमा बोल्न पाउने अवस्था बनोस् ।’

नेपाली कांग्रेस सांसद शंकर भण्डारीले आग्रह–पूर्वाग्रहबाट माथि उठ्न नसकेसम्म मुलुक बन्न नसक्ने बताउँदै सबैभन्दा ठूलो समस्या आग्रह र पूर्वाग्रह नै रहेको उल्लेख गरे ।

उनले भने, ‘आग्रह–पूर्वाग्रहबाट हामी जबसम्म माथि उठ्दैनौँ, समग्रमा तबसम्म अरू कुनै तर्कले मुलुक बनाउन सक्दैन । हाम्रो मुलुकको सबैभन्दा ठूलो समस्या नै आग्रह र पूर्वाग्रह हो । जबरजस्ती ढंगले विरोध गर्नु हो । विद्युत् प्राधिकरण कसरी घाटामा छ, हिजो नाफामा गएको हो भने त्यसलाई फेरि पुनःताजगी दिने कुरामा समिति, सरकार र कर्मचारीहरू अघि बढौँ ।’

उनले राष्ट्रका समस्यालाई सबैले साझा मुद्दा बनाएर अघि बढे देशको विकासको लय समात्न सकिने बताए ।

कान्तिपुर

Link copied successfully