विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको ऊर्जामन्त्री खड्काको गुनासो

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Complaint of Energy Minister Khadka about calling from abroad and saying that there is loadshedding

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भएको भन्दै दुःख दिने गरिएको गुनासो गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विदेशबाट फोन गरेर बत्ती गएको भन्दै बारम्बार दुःख दिने काम भइरहेको उल्लेख गरे । उनले भ्रम फैलाउनेहरूले राति १२ बजे पनि फोन गरेर बत्ती गएको बताउने गरेका उल्लेख गर्दै त्यसबारे सोधपुछ गर्दा नेपालका ती स्थानहरूमा बत्ती गएको नभई झुटो जानकारी दिइएको पाइएको बताए ।

उनले यस्ता दुष्प्रचारमा नलागी यथार्थमै आधारित रहन आग्रह गरेका छन् । उनले अवरुद्ध भएको खण्डमा त्यसको कारणसहित जानकारी दिइने गरिएको पनि बताएका छन् ।

उनले उत्पादनमा कमी भएर नभई कम उत्पादन भएको बेला विद्युत् आयात गरेर भए पनि आवश्यकताअनुसार आपूर्ति भइरहेको बताए ।

उनले भने, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक–पटक आएका छन् । हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैलाउने काम भइरहेको छ । एउटै नम्बरबाट पटक–पटक फोन आउने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । तर त्यहाँ बुझ्दा सबैतिर बत्ती हुन्छ । यस्तो प्रकारको दुष्प्रचार गरिएको पाइन्छ । यस्ता दुष्प्रचारमा नलागेर यथार्थमा रहन आग्रह गर्दछु । अवरुद्ध भएको खण्डमा त्यसको कारण दिइएका छौँ । उत्पादनमा कमी भएर लोडसेडिङ भएको होइन, कम उत्पादन भएको समयमा आयात गरेर भए पनि आवश्यक विद्युत् उपलब्ध गराएका छौँ ।’

उनले ऊर्जा, पर्यटन र कृषिबाट नेपालको समृद्धि सम्भव रहेको पनि बताए ।

कान्तिपुर

Link copied successfully