दाङ — एमाले महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धनको सरकार २०८४ सम्मै रहने दाबी गरेका छन् । दङ्गाली कम्युनिस्ट नेता नेत्रलाल पौडेल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा एमाले दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यो गठबन्धन आवश्यकताबाट बनेको बताए।
सरकार ढलेमा देशमा अराजकता र असहजता सिर्जना गर्न सकिन्छ भन्ने दाउमा केही राजनीतिक शक्तिहरू रहेको उल्लेख गर्दै पोखरेलले त्यो सम्भव नहुने स्पष्ट पारे । 'माओवादीलाई सरकारबाहिर हुँदा छटपटी भए पनि सरकार ढाल्न सम्भव छैन,' उनले भन्नुभयो, 'यो गठबन्धन अर्को निर्वाचन नभएसम्म जारी रहन्छ। यो देशको आवश्यकताको गठबन्धन हो।'
गल्ती गर्ने जो–कोही पार्टीका नेता वा कार्यकर्तालाई कारबाही हुनुपर्ने धारणा उनले व्यक्त गर्नुभयो। स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई इङ्गित गर्दै उनले कसैलाई राजनीतिक पूर्वाग्रहको आधारमा होइन, कमजोरीको आधारमा कारबाही गरिनुपर्ने विचार व्यक्त गरे । 'गल्ती गर्ने जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई पनि कारबाही हुनुपर्छ,' पोखरेलले भने, 'आपराधिक मुद्दामा राजनीतिकरण गर्नु हुँदैन।'
जनताको असन्तुष्टिलाई समस्याका रूपमा होइन, अवसरका रूपमा लिनुपर्ने धारणा पनि उनले राखे। 'असन्तुष्टिलाई अवसरका रूपमा लिएर योजना र प्रतिबद्धतामा बदल्न सकेमा पार्टी जनतामाझ लोकप्रिय बन्न सक्छ,' उनले भने, 'हामी जनताको बीचमा जाऔँ, जनताका कुरा सुनौँ, जनताबाटै सिकौँ र अघि बढौँ।'
जनताका गुनासा समृद्धिको यात्रामा समावेश गर्न आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले पार्टीलाई अझ व्यवस्थित र सङ्गठित बनाएर अघि बढ्ने समय आएको बताए। स्वर्गीय नेत्रलाल पौडेल दङ्गाली कम्युनिस्ट आन्दोलनका अगुवा रहेको र उनको योगदान अविस्मरणीय रहेको पोखरेलले स्मरण गरे ।
