काठमाडौँ — गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सांसदहरूले उक्त प्रस्तावमाथि छलफल गरेर मन्त्री अधिकारीले जवाफ दिएसँगै सभामुख घिमिरेले प्रस्तावलाई पारित गर्न प्रक्रिया सुरु गरे । लगत्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकिन गर्न माग गरे । उक्त समयमा प्रतिपक्ष दलका तीन जना मात्रै सांसदहरू संसद्मा उपस्थित थिए ।
नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाइ गणपूरक संख्या यकिन गर्दा प्रस्ताव निर्णयार्थ पेस गर्न ६९ संख्या हुनुपर्नेमा ६५ मात्रै पुगेपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
