काठमाडौँ — रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको छ ।
सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार रिटमाथि सुनुवाइ सुरु भए पनि नसकिएकाले 'हेर्दाहेर्दै'मा राखिएको हो ।
गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । यसअघि पटक-पटक पेसी तोकिए पनि हेर्न नमिल्नेमा राखिएको थियो । ६ पटक 'हेर्न नमिल्ने'मा परेको रिट निवेदनमा मंगलबार सातौं पटकमा सुनुवाइ सुरु भएको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । उच्च अदालत तुलसीपुर, बुटवलले इजलासले जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । हाल लामिछाने थुनुवाका रुपमा रुपन्देही कारागारमा छन् ।
