काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी १३औं सत्रको अन्तर्राष्ट्रिय बेत बाँस संगठन (इनबार) काउन्सिलको अध्यक्षता गर्न चीन प्रस्थान गरेका छन् । चीन सरकारको निमन्त्रणामा बेइजिङमा आयोजना हुने उक्त सत्रमा सहभागी हुन वनमन्त्री शाही मंगलबार चीनका लागि प्रस्थान गरेका हुन् ।
मन्त्री शाही जेठ १० गते स्वदेश फर्किने कार्यक्रम रहेको निजी सचिवालयले जानकारी दिएको छ । जेठ ८ गतेदेखि हुने कार्यक्रममा मन्त्री शाही काउन्सिलको मुख्य अतिथि रहेका छन् ।
नेपाल इनबारको २ वर्षे कार्यकालका लागि अध्यक्ष मुलुकमा सन् २०२३ को मार्चमा नेपाल निर्वाचित भएको थियो । बेइजिङस्थित इनबारको मुख्यालयमा सम्पन्न भएको १२औँ इनबार परिषद्को १३औँ अधिवेशनले सन् २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि नेपाललाई सर्वसम्मतिले छनोट गरेको थियो ।
बाँस र बेत प्रयोग गरेर गरिबी र वातावरणीय दिगोपनको लागि नवीन समाधान विकास तथा प्रवर्द्धन गर्न सन् १९९७ मा इनबारको स्थापना भएको हो ।
