सिन्धुपाल्चोक — सिन्धुपाल्चोकका दुई गाउँपालिकाले भ्रष्टाचारको आरोप लागेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न निर्देशन दिएका छन्।
सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना र लिसंखु पाखार गाउँपालिकाका अध्यक्ष राजु लामाले छुट्टा-छुट्टै विज्ञप्ति जारी गर्दै भ्रष्टाचारको आरोप लागेको व्यक्तिलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न र सहभागी नगराउन आग्रह गरेका हुन्।
टेरामक्स प्रविधि खरिदमा अनियमितता गरेको आरोपमा बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। सिन्धुपाल्चोक-२ बाट निर्वाचित बस्नेतको सांसद पदसमेत निलम्बनमा छ।
तर बस्नेतलाई प्रमुख अतिथि बनाएर सोमबार र मंगलबार सुनकोशी गाउँपालिका-२ ठोकर्पामा स्वास्थ्यचौकी भवन उद्घाटन र लिसंखुपाखर-२, निगालेमा निगाले नारगाउँ खानेपानी योजनाको उद्घाटन कार्यक्रम राखिएपछि गाउँपालिकाहरूले यस्तो निर्देशन दिएका हुन्।
भ्रष्टाचार मुद्दा दर्ता भई पदबाट निलम्बन भएको व्यक्तिबाट उद्वघाटन नगराउन र कार्यक्रममा समेत सहभागी नहुन गाउँपालिकाले आह्वान गरेका छन्। विज्ञप्तिमा भ्रष्टाचार अभियोगमा सांसद पदबाट निलम्बित व्यक्तिबाट कुनै कार्यक्रमको उद्घाटन हुनु संविधान, प्रचलित कानुन तथा स्थानीय सरकारको स्वायत्तताको गम्भीर उल्लङ्घन हुने उनीहरूको भनाइ छ।
सुनकोशीका अध्यक्ष तिम्सिना एमालेबाट निर्वाचित भएका हुन् भने लिसंखु पाखारका अध्यक्ष लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।
