सरकारले आयोजना गर्ने कार्यक्रममा नआउनेहरूलाई रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नबोलाउनू : प्रधानमन्त्री ओली

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Those who do not come to the programs organized by the government will not be invited from the upcoming programs after looking at the record: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरेका हुन्। कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका हुन्।

कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले भने, 'कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। कोही–कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ, कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने – यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला। हेर्नुहोला, रेकर्ड – को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।'

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र केवल सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने धारणा पनि राखेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully