जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित 

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

The Water Resources Bill was passed by the House of Representatives

काठमाडौँ — जलस्रोत विधेयक, २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबारको बहुमतले जलस्रोत विधेयक पारित गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव प्रतिनिधिसभाको बैठकबाट बहुमतले पारित भएको हो । 

ऊर्जामन्त्री  खड्काले नेपालको जलस्रोतको सदुपयोग, उपयोग र संरक्षण कसरी गर्ने र यसका कानुनी व्यवस्था कस्तो हुँदा पूर्णरुपले सदुपयोग र संरक्षण गर्नसक्छौं भन्ने विषय समेटेर कानुन निर्माण गर्न लागिएको बताए । यो विधेयक दुवै सदनबाट पारित गरेर कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

'हिजोका कानुनलाई परिमार्जन गरेर समयानुकूल कानुन बनाउनुपर्ने महसुस गरेर नै यो विधेयक आएको हो । हाम्रो जलको क्षमता के हो ? यसको संरक्षण कहाँ गर्नुपर्छ र जलको बाँडफाँड न्यायोचित ढंगले कसरी गर्न सकिन्छ भन्ने कुरा यो विधेयकमा उल्लेख छ,' उनले भने, 'यो कानुनले हाम्रो तीन तहको सरकारको अधिकारलाई सुनिश्चित गर्ने, उपयोग गर्नुपर्ने जलको प्रयोग गर्ने र लाभहानीका विषयमा बढी जिम्मेवार बनाउने काम गरिएको छ । विधेयकमा नसमेटिएका विषय र सुझावका रूपमा आएका विषयलाई नियमावली र कार्यविधिमा व्यवस्था गर्नेछौँ ।' 

विधेयकमा जलस्रोतको लाभ र हानिको विषय समेटिएको उल्लेख गर्दै मन्त्री खड्काले पारित गरेर जानुपर्ने बताएका थिए । विधेयकका सम्बन्धमा संसदीय समितिले तयार पारेको प्रतिवेदनसहितको छलफलमा सांसदहरू दिलेन्द्रप्रसाद बडू, माधव सापकोटा, अमरेशकुमार सिंह, किरणकुमार साह, सुनिता बराल, लक्ष्मी तिवारी, प्रेम सुवाल, हितराज पाण्डे, ठाकुरप्रसाद गैरे र लेखनाथ दाहालले भाग लिएका थिए ।

कान्तिपुर

Link copied successfully