काँक्रेविहार, सुर्खेत — माओवादी अध्यक्ष पुष्पकमल दाहालले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् । छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेकाका दाहालले जनयुद्धमा जाजरकोटले पुर्याएको योगदानको प्रशंसा गरे । जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए ।
अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने अध्यक्ष दाहालको भनाइ छ । 'हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ,' उनले भने, 'अब फेरि हामीलाई तपाईँहरुले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।' मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उनले बताए ।
जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारम्म राख्ने दाहालको प्रतिबद्धता छ । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने पनि उनले आश्वासन दिए । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उनले बताए ।
