काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणालीले कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ महाधिवेशन उद्घाटन गर्दै उनले आफूहरू मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने लक्ष्य लिएको बताए ।
उनले एमालेका लागि एकल बहुमत सम्भव रहेको पनि बताए। समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिए पनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताए।
यही प्रणालीभित्र बहुमत ल्याउने गरी आवश्यक तयारी थाल्न निर्देशन दिए। नेकपा (एमाले) हजार रुपैयाँ गोजीमा हालेर कुदाउन ल्याइएको जमातजस्तो नभएको बताए। उनले अराजकता सधैँ आफूहरूको शत्रु भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, 'हामीले मिसन ०८४ को उद्देश्य लिएका छौँ। एकल बहुमत ल्याउने लक्ष्य लिएका छौँ। यो असम्भव छैन। यो बिल्कुल सम्भव उद्देश्य हो। कसैलाई पनि बहुमत ल्याउन नसक्ने, नदिने खालको भरसक त्यस्तो प्रणाली हामीकहाँ छ। तर हामीले धेरै भोट र धेरै सिट ल्यायौँ भने कसैलाई बहुमत ल्याउन नसक्ने खालको परिपाटीमा पनि बहुमत ल्याउन सम्भव छ। समानुपातिक प्रणाली साधरणतया हङ् पार्लियामेन्टको प्रणाली हो। यसले कसैको बहुमत आउँदैन, साधरणतया। साधरणतया मात्र होइन, हामीले यो प्रणाली चुनिसकेका छौँ, प्रणाली यही कायम रहन्छ। यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ। यो कष्ट साध्य छ, चुनौतीपूर्ण छ, तर पनि यो काम नेकपा (एमाले) का लागि सम्भव छ। त्यस कारण हामीले मिसन ०८४, एमालेको एकल बहुमत ल्याउने गरीको तयारीमा जुटिरहेका छौँ।'
प्रधानमन्त्री ओलीले नेकपा (एमाले) जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रूपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्न सक्ने बनाइनुपर्ने बताए ।
