मुलुकभर बाँदर गणना

जेष्ठ ५, २०८२

मनोज पौडेल

Nationwide monkey count

लुम्बिनी — कृषकलाई दुःख दिइरहेको बाँदरको व्यवस्थापन गर्ने उद्देश्यले संख्या यकिन गर्न मुलुकभर बाँदर गणना सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग काठमाडौंद्वारा ६ वटा प्रदेशका बाँदर पाइने मुख्य मुख्य ठाउँमा गणना भइरहेको हो ।

यो गणनाले राष्ट्रिय समस्याकै रूपमा रहेको बाँदरको उपद्रव र बिठ्याइँलाई व्यवस्थापन गर्न नीति, योजना र कार्यक्रम बनाउन सहयोग पुर्‍याउने दाबी गरिएको छ । १३ जिल्लाका ४ नगरपालिका र १५ गाउँपालिकामा बाँदर गणना सकिएको गणनाका संयोजक त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. हरिप्रसाद शर्माले बताए । अहिले रामेछापको मन्थली, दैलेखको दुल्लु, बैतडीको पाटन र धादिङको धुनीबेसीमा गणना भइरहेको छ । दोलखाको गौरीशंकर, बैत्तेश्वर र विगु गाउँपलिका, धादिङका दुई स्थानीय तहमा गणना पूरा भइसकेको छ । एक/दुई दिनमै इलाम, पाँचथर, धनकुटा र मकवानपुरमा गणना गर्न टोली पुग्ने उनले बताए ।

राष्ट्रिय रुपमा पहिलो पटक भइरहेको बाँदर गणनाले कृषक र बाँदरमैत्री काम गर्न सहयोग गर्ने उनले बताए । गत चैत १५ बाट सुरु गरिएको गणना जेठ अन्त्यसम्म सकिनेछ । अहिले मधेश प्रदेशबाहेक ६ प्रदेशमा गणना गरिनेछ । मधेश प्रदेशमा यसअघि विभागले गणना गरिसकेको छ । अहिले बागमती, सुदूरपश्चिम, कोशी र कर्णाली प्रदेशमा गणना भइरहेको छ । लुम्बिनी र गण्डकीमा भने सुरु भएको छैन । लुम्बिनीको पाल्पा, अर्घाखाँची, गुल्मी र प्यूठानमा बाँदर गरिनेछ ।Nationwide monkey countगणनाका क्रममा धादिङमा फेला परेको बाँदर । तस्बिर सौजन्य : प्रकृति बास्कोटा

गणनाको योजना बनाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेर बाँदरले समस्या ल्याए/नल्याएकोबारे जानकारी मागिएको थियो । करिब २ सय ३० स्थानीय तहले जानकारी पठाएका थिए । त्यसमध्ये करिब ४५ स्थानीय तहले बाँदरले समस्या पुर्‍याएको भन्दै ठाउँ र वडा नै उल्लेख गरेर जानकारी पठाएका थिए । ‘पत्रको जवाफ दिने पालिकामा फोन सम्पर्क गरेर कन्फर्म गयौं,’ त्रिवि प्राणीशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. विष्णुप्रसाद भट्टराईले भने, ‘त्यसपछि पत्रपत्रिकामा बाँदरले समस्या गरेका विषयमा आएका समाचार/लेख अध्ययन गयौं ।’

त्यस्तै प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बाँदरका समस्याबारे आएका उजुरीलाई पनि आधार बनाएर बढी समस्या देखिएका ४० देखि ४५ स्थानीय तहमा बाँदर गणना गरिने उनले बताए । प्राणीशास्त्र अध्यापन गराउने प्राध्यापक, वाइल्डलाइफ अनुसन्धानकर्ता र प्राणीशास्त्र अध्ययरत विद्यार्थीसहितको १८ जनाको टोली गणनामा खटिएको छ । टोलीको नेतृत्व एक जनाले गर्दै गणनाका लागि छनोट भएको स्थानीय तहका सम्बन्धित वडाध्यक्ष, सदस्य, प्रमुख/उपप्रमुखसँग समन्वय गरेर गणना भइरहेको छ । स्थानीय स्वयंसेवकलाई समेत परिचालन गरेर गणनालाई व्यापक र आधिकारिक बनाइएको भट्टराईले बताए ।

नेपालमा बाँदर ६३ मिटरदेखि ४ हजार मिटर उचाइसम्म पाइने गरेका छन् । नेपालमा रातो, पहरे र दुई प्रजातिका लंगुर गरी ४ प्रजातिका बाँदर पाइने विभागका सहप्राध्यापक डा. हरिप्रसाद शर्माले बताए । ‘लंगुरमा नेपाल र तराई गरी दुई प्रजाति छन् । कसैकसैले नेपालमा लंगुरका तीन प्रजाति पाइने भने पनि यसबारे अनुसन्धान भएको छैन,’ उनले भने । गणना वैज्ञानिक रुपमा गर्न सहभागी सबैलाई प्रशिक्षण दिइएको छ । नछुटून्, नदोहोरियोस् भनेर ५ पटकसम्म गणना गरी औसत संख्या निकालेर तथ्यांकलाई आधिकारिकता दिइने विज्ञहरुले बताएका छन् ।Nationwide monkey countबर्दिया राष्ट्रिय निकुञ्जमा आफ्नो बच्चा च्यापेर टहलिरहेको बाँदर । तस्बिरः मनोज पौडेल/कान्तिपुर

बाँदर र बँदेलले बालीनालीलाई क्षति पुर्‍याइरहेका बेला धपाउँदा मृत्यु भयो भने पहिले कारबाहीको प्रावधान रहेकामा अहिले मुचुल्का उठाएर व्यवस्थापन गर्न सकिने कानुनी व्यवस्था गरिएको छ । बाँदरले अत्यधिक क्षति पुर्‍याउँदा कृषकलाई राहत दिन गत वर्षको मंसिरदेखि एक वर्षका लागि यो व्यवस्था परीक्षणमा छ ।

बाँदर धर्म र आस्थासँग पनि जोडिएकाले यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर गणनाकै क्रममा स्थानीयसँग राय सुझाव लिने गरिएको छ । ‘कसैले मार्नु पर्छ र कसैले बन्ध्याकरण गरेर व्यवस्थापन गर्नुपर्छ भनेका बेला स्थानीयको रायसुझाव पनि महत्त्वपूर्ण हुनेछ,’ सहप्राध्यापक डा. शर्माले भने । यसले धेरै समस्या भएका ठाउँको बाँदर गणनापछि मुलुकमै बाँदरको अनुमानित सम्भाव्य संख्या पनि प्रक्षेपण गरेर काम गर्न सकिने सहप्राध्यापक डा. शर्माले बताए । ‘प्रारम्भिक संख्या पत्ता लगाउन सकियो भने ५/६ वर्षपछि पुनः गणना गरेर घटेबढेको पत्ता लगाउन सकिन्छ । यसले बाँदर व्यवस्थापनका लागि राज्यले अल्पकालीन र दीर्घकालीन नीति–कार्यक्रम बनाउन मद्दत गर्छ,’ उनले भने ।

बाँदरले खेतबारी र घरमा आएर खाद्यान्न, अन्नबाली खाएर दुःख दिँदा मानिसले प्रतिशोधका रूपमा धपाउने, तर्साउने, घाइते बनाउने र मार्नेसमेत गरेको सुनिन्छ । बाँदर धपाउने क्रममा कति मानिस लडेर घाइते हुने तथा मृत्युसम्मका घटना पनि भएका छन् । पारिस्थितिकीय सन्तुलनमा बाँदर प्रजातिको महत्त्वपूर्ण भूमिका हुने वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । बाँदरले वनका विभिन्न प्रजातिका वनस्पतिका फल खाएर दिसाबाट अर्को ठाउँमा लगेर बीउ संरक्षणमा योगदान गरिरहेको उनले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण ऐनको अनुसूची १ मा पहरे बाँदरलाई संरक्षित जनावरको सूचीमा राखिएको छ भने नेपालमा पाइने दुई प्रजातिका लंगुर बाँदरलाई साइटिस महासन्धिको अनुसूची १ तथा पहरे र रातो बाँदरलाई अनुसूची २ मा राखिएको छ । आईयूसीयन रेड लिस्टमा पहरे बाँदर र तराई लंगुरलाई लोपोन्मुख तथा रातो बाँदर र नेपाली लंगुरलाई कम चासो भएको वर्गमा राखिएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully