आयातमुखी अर्थतन्त्र नियन्त्रणका लागि स्वदेशी उत्पादन प्रयोग गरौं : उपप्रधानमन्त्री सिंह

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Let's use domestic production to control the import-oriented economy: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वदेशी उत्पादनको प्रयोग बढाएर आयातमुखी अर्थतन्त्र नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।

सिमेन्ट उत्पादक संघले आइतबार ललितपुरमा आयोजना गरेको ‘सिमेन्ट कन्क्लेभ’ मा उनले  स्वदेशी उत्पादन वृद्धिले अर्थतन्त्रलाई सही दिशामा लैजान र आयातलाई घटाउन सकिने धारणा राखेका हुन् । 

नेपाल सिमेन्टमा आत्मनिर्भर भएको उल्लेख गर्दै सिंहले निर्माणका लागि स्वदेशी सिमेन्ट नै प्रयोग गर्नुपर्ने बताए । 'हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्था छ । अब आफ्नै देशमा उत्पादन भएको सिमेन्ट प्रयोग गरे यसले उत्पादनलाई पनि बढावा दिनेछ । आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसैले यी पक्षलाई ध्यानमा राखेर काम गरौँ,' उनले भने । 

देशको भूबनोटअनुसार सिमेन्टको प्रयोगले बाटोहरू गुणस्तरयुक्त हुने भन्दै सुरुमा लगानी धेरै भए पनि लामो समय टिक्ने हुँदा यसको प्रयोगमा जोड दिनुपर्ने सिंहको भनाइ थियो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकाशमा निजी क्षेत्रको सहकार्य जरूरी रहेको बताए  । उनले निजी क्षेत्रसँग साझेदारी गरी पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरिरहेको जानकारी दिए । 

विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांशसमेत लिने अभ्यास रहेको उल्लेख गर्दै मन्त्री दाहालले यस्ता सम्भाव्य क्षेत्रको पहिचान नेपालमा पनि आवश्यक रहेको बताए । नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगति र टिकाउपनाका कारण कङ्क्रिट सडक निर्माणलाई अध्ययन गरी प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो ।  

कान्तिपुर

Link copied successfully